महेश केसी
रुकुम २७ असोज । नक्कली नोट छाप्ने काममा संलग्न रुकुमका २ जना  व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सदरमुकाम मुसिकोट खलंगाको पातुखोलामा होटेल संचालन गर्दै आएका गोतामकोट ९ का ३४ वर्षिय जुन वहादुर वोहोरा र झुला ६, रुकुमका  डिभाईड भनिने खिमबहादुर देवकोटालाई प्रहरीले पक्राउ गरेको हो ।

nakkali-notअभियुक्त बोहोराका छोराले एक हजारको नोट लिएर बजारमा सामान किन्न आएका बेला उक्त नोट नक्कली भएको शंका लागेपछि पसलवालाले प्रहरीलाई खवर गरेका थिए । बोहोराका छोराले दिएको जानकारी अनुसार पैसा छाप्ने मेसिन, एकहजारको नक्कली नोट सहित बोहोरालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक अंगुर जिसीले जानकारी दिनुभयो ।

प्रारम्भिक अनुसन्धानका क्रममा बोहोरा र देवकोटाले नक्कली नोट छाप्ने काममा संलग्न भएको स्विकार गरेको डिएसपी जिसीले बताउनुभयो । त्यस्तै बोहोराले ३ लाख ८५ हजार नक्कली नोट जलाएको समेत स्विकार गरेको उहाँको भनाई छ । घटनामा अन्य व्यक्तिपनि संलग्न हुनसक्ने प्रहरीले जनाएको छ । रुकुममा यसअघि पनि नक्कली नोट छाप्ने मेसिन सहित प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको थियो ।