aasthimiदाङ २३ असोज ।  आज महाअष्टमी, आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादसैँका रुपमा दुर्गा भवानीको पूजाआजा गरी मनाईंदैछ ।

बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मतरुपमा दसैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशुबलि दिई दुर्गा भवानीको विशेष पूजाआजा गरिन्छ ।

दुर्गा सप्तशती, श्रीमद्देवी भागवत र देवीस्तोत्र पाठ पनि आज गर्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । आज कलपुर्जा, विभिन्न हातहतियार र सवारीसाधनलाई विशेषरुपमा सरसफाइ गरी पूजाआजा गर्ने गरिएको छ ।
पशुबलि नचढाउनेले भने आज पूजा कोठामा काँक्रो, घिरौँला, कुभिन्डो, मूला र नरिवल आदि बलि चढाई पूजाआजा गर्ने गर्दछन् ।