असोज १९ हाईटी । शक्तिशाली समुद्री आँधी म्याथ्युका कारण हाइटीको जनजीवन प्रभावित छ ।
दुई सय ३० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको हावाका कारण ठूलो पानी परेको छ भने खतरनाक तुफान आएको छ ।
आँधीका कारण हाइटीको पश्चिमी भागको तटीय क्षेत्रमा बढी प्रभाव परेको बिबिसीले जनाएको छ । तटीय क्षेत्रमा रहेका धेरै बस्तीमा एक मिटरसम्म पानी जम्मा भएको छ ।
धेरै घरको छानो उडेको छ ।आँधीका कारण धेरै मानिसको ज्यान गएको तर संख्या थाहा नभएको हाइटीका अन्तरिम राष्ट्रपति जोकोलर्म प्रिवर्तले बताउनुभएको छ ।
दक्षिणी तटीय क्षेत्रमा पनि आँधीले क्षति पुर्याएको छ । आँधीका कारण आएको बाढीले ७० हजार मानिस विस्थापित भएका छन् । म्याथ्यु आँधी एक दशक यताकै शक्तिशाली रहेको त्यहाँका अधिकारीले बताएका छन् । आँधीका कारण हाइटीका सबै हवाई सेवा बन्द गरिएको छ । म्याथ्यु आँधीले अमेरिकासहित क्यारबियन देशमा प्रभाव पार्ने छ ।