काठमाडौं, १८ असोज । वीरगञ्ज र भैरहवाबाट आगुऔषध काठमाडौं भित्र्याउँदै गर्दा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले आज मंगलबार बिहान तीन जनालाई पक्राउ गरेको छ ।
वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ६ ख ४६८४ नम्बरको रात्रि बसमा राजेश मुखियाले तीन हजार एम्पुल डाइजोपाम ल्याउँदै गर्दा पक्राउ गरिएको नागढुङ्गाका प्रहरी निरीक्षक सुनिल दाहालले जानकारी दिए ।
मुखियाले कपडाले बेरेर झोलाभित्र हालेर सिटभन्दा माथि झोला राख्ने ठाउँमा राखेर ल्याउँदै गर्दा पक्राउ गरिएको हो । मुखिया वीरगञ्जका स्थानीय हुन् । त्यस्तै भैरहवाबाट काठमाडौं आउँदै गरेको लु १ ख ७१७५ नम्बरको बसबाट पनि प्रहरीले दुई सय चार एम्पुल डाइजोपाम सहित प्रदिपकुमार मल्ललाई पक्राउ गरेको छ । मल्ल नवलपरासी सुनवलका स्थानीय हुन् ।
मल्ल र मुखियाले लिएर आएका लागु औषध लिन नागढुङ्गा पुगेका काठमाडौं गोंगबुका निरञ्जन महर्जनलाई पनि पक्राउ गरिएको प्रहरी निरीक्षक दाहालले बताए।
