विश्वबाटै लोपोन्मुख सूचीमा सूचीकृत रेडपाण्डा (हाब्रे) को चोरी निकासी बढ्न थालेपछि मोबाइल एप्लिकेसनको प्रयोग सुरू गरिएको छ । रेडपाण्डा पाइने इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा रेडपाण्डाको संरक्षण र अनुगमनका लागि मोबाइल एप्लिकेसनको प्रयोग सुरू गरिएको हो ।
वन अभिभावकले रेडपाण्डाको बासस्थान, उसले हिँड्ने बाटो, रेडपाण्डाको दिसा र रेडपाण्डा देखिए तस्बिरसहितको एप्लिकेसनमार्फत सबै विवरण भरेर रेडपाण्डा नेटवर्कको केन्द्रीय कार्यालयमा पठाउन थालेका छन् ।
इलाममा १४ जना वन अभिभावकलाई सात वटा, पाँचथरमा १२ जनालाई छ वटा र ताप्लेजुङमा २८ जना वन अभिभावकलाई १४ वटा मोबाइल वितरण गरिएको रेडपाण्डा नेटवर्कका सुमित गौतमले जानकारी दिए ।
मोबाइल एप्लिकेसन प्रयोगका लागि भने रेडपाण्डा पाइने जङ्गल जानुपर्ने हुन्छ । एप्लिकेसनसँगै जिपिएसको समेत प्रयोग हुन थालेको छ ।
