काठमाडौं, १५ असोज । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले मुलुकले राजनीतिक क्रान्ति पूरा गरिसकेको भन्दै अब दलहरु मिलेर आर्थिक क्रान्तिमा लाग्नुपर्ने बताएका छन् ।
नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सिंह सो कुरा बताएका हुन् । उनले पार्टीभित्रका तिक्ततालाई बिर्सेर स्थानीय निर्वाचनमा लाग्न आग्रह गरे ।
नेता सिंहले पार्टीलाई विधानसम्मत चलाउन नेतादेखि कार्यकर्ताले विधानको पालना गर्नुपर्ने बताए । उनले पार्टी विधानसम्मत चलेमात्र अरु पार्टीसँग प्रतिस्पर्धा गर्न सजिलो हुने बताएका छन् ।











