दाङ, १३ असोज । दाङको लमहीमा निर्माण हुन लागेको आइसीसी मापदण्डको क्रिकेट मैदानका लागि लमही नगर विकास समितिले १ करोड ३१ लाख रुपैयाँको टेण्डर आह्वान गरेको छ । मैदानको भौतिक पूर्वाधार निर्माणका लागि टेण्डर आह्वान गरेको हो ।
टेण्डर स्वीकृत भएमा मैदानको बाँकी निर्माण कार्यअघि वढ्ने लमही नगर विकास समितिका अध्यक्ष घनश्याम सुवेदीले बताए । ‘भर्खरै टेण्डर आह्वान गरेको छ, टेण्डर स्वीकृत हुने वित्तिकै भौतिक पूर्वाधार काम शुरु हुन्छ’, उनले भने ।
यो बजेट मैदानको भौतिक पूर्वाधारको लागि पर्याप्त बजेट नभएको भन्दै थप बजेटका लागि यूवा तथा खेलकुद मन्त्रालयमा प्रक्रिया अघि वढाएको अध्यक्ष सुवेदीले बताए । खेल मैदानका लागि धेरै प्रयास भएपनि कसैबाट सुनुवाइ नभएपछि दवावका लागि भदौ महीनामा भारतको पटना र दाङ देउखुरीका खेलाडीबीच क्रिकेट खेलको आयोजना गरिएको थियो ।
आर्थिक वर्ष २०५८/०५९ देखि क्रिक्रेट मैदानको निर्माण कार्य शुरु भएको थियो । तर, सरकारी निकाय, मन्त्रालय र अन्य सरोकारवाला निकायको ध्यान नदिँदा मैदान गौचरण र ड्राईभिङ सिक्ने थलोको रुपमा परिणत भएको छ । खेल मैदानको काम पूरा गर्न करीव २४ करोड लगानी लाग्ने स्टीमेट गरिएको छ । यो मैदान निर्माण भएपछि यहाँ राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्रिकेट खेलको आयोजना गर्न सकिने अध्यक्ष सुवेदीको भनाइ छ ।
नगर विकास समितिले विगतदेखि नै यो मैदानलाई अन्तरराष्ट्रिय क्रिकेट मैदानको रुपमा विकास गर्न पहल गरिरहेको तर पनि सम्बन्धित निकायहरुबाट खासै चासो नदिइएको उनले बताए ।