काठमाडौं, १० असोज । जनक्रान्ति पूरा नभएको भन्दै आएको विप्लव माओवादीले फेरि जग्गा कब्जा गर्ने रणनीति ल्याएको छ । पछिल्लो समय विभिन्न स्थानमा जग्गा कब्जा गर्दै आएको विप्लव माओवादीले भक्तपुरको कटुन्जे ३ थापाटोल सिरुफाँटमा रहेको विमला घिमिरेको विवादित जग्गामा झण्डा गाडेको छ ।

biplav-624x468घट्टेकुलो मैतिदेवि घर भई हाल अमेरिकामा रहेका करुणा थेच्मी र देवलाल थेच्मीसँग विवादमा रहेको तीन आना दुई पैसा दुई दाम क्षेत्रफलको उक्त जग्गासम्बन्धी मुद्दा नेकपा (माओवादी) को केन्द्रीय न्याय विभागमा परेपछि विप्लव माओवादीले त्यो जग्गामा झण्डा गाडेको स्रोतले दावी गरेको छ । करुणा–देवलाल समूहले पाँच लाखको घरायसी लेनदेनमा जबर्जस्ती धाकधम्की दिएर विमलालाई पाँच गुना बढी रकम २२ लाखको लेनदेनको कागज गराएको र ब्याजसमेत गरी ३२ लाख रकम दाबी गर्दै आएको बुझिएको छ ।

कित्ता नं १७१८ को उक्त जमिन जबर्जस्ती दृष्टिबन्धक गराइएको, अवाञ्छित गतिविधि गरी सत्तालाई प्रभावित गरेर अन्याय गरेको दाबीसहित केन्द्रीय न्याय विभागमा मुद्दा चलिरहेको र विभागले छलफलका लागि दुवै पक्षलाई झिकाएको अवस्थामा करुणा पक्ष छलफलमा नआएकाले उक्त जमिनमा पार्टीको झन्डा गाडिएको विप्लव माओवादीले दावी गरेको छ ।

नेकपा (माओवादी) का केन्द्रीय सदस्यसमेत रहेका भक्तपुर जिल्ला सेक्रेटरीर इन्चार्ज आजादले विमला–करुणा लेनदेन मुद्दा पार्टीले अध्ययन गरिरहेको बताए । विप्लव माओवादीको यस्तो प्रकारको गतिविधिले फेरि जनतालाई आतंकित बनाएको छ ।