काठमाडौं, ९ असोज । नेपाललाई पूर्व-पश्चिम जोडने पुष्पलाल (मध्यपहाडी) लोकमार्गको नयाँ रेखांकन स्वीकृतिका लागि प्रस्ताव गरिएको छ । सडक विभागले नयाँ रेखांकन स्वीकृतका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको छ । गत साता मध्यपहाडी राजमार्गको नयाँ रेखांकनको सम्पूर्ण अध्ययन गरी स्वीकृतिका लागि मन्त्रालय पठाइएको सडक विभागका प्रवक्ता दयाकान्त झाले बताए ।

2345a98e987d897defbc078bc259d3edयसअघि सबै नयाँ ट्रयाकबाट सडक निर्माण गर्ने तयारी गरिएको भएपनि अब भने विभिन्न सडकमा जोड्दै लोकमार्गको रेखांकन गरिएकोछ । नयाँ रेखांकनअनुसार सडक निर्माण गर्दा ३ सय किलोमिटरसम्म छोटो पर्ने झाले बताए ।

विभागले बनाएको नयाँ रेखांकनअनुसार जलविद्युत आयोजनाको क्षेत्रमा पर्ने सडकका लागि समेत वैकल्पिक व्यवस्था गरिएको छ । अहिलेको रेखांकनअनुसार मध्यपहाडी लोकमार्गको सडक विभिन्न स्थानमा पर्ने जलाशययुक्त आयोजना निर्माण डुबानमा पर्नेसक्ने भन्दै त्यस्ता आयोजना वरपरका क्षेत्रमा पूर्वाधार विकास गर्दा पर्याप्त समन्वय गर्न ऊर्जा मन्त्रालयले निर्देशन दिएको थियो ।

नेपालको मध्यपहाडी भू–भागका जिल्लालाई यातायातमा सञ्जालमा जोड्ने उद्देश्यले पूर्वमा पाँचथरको चियो भञ्ज्याङदेखि पश्चिमको बैतडी झुलाघाटसम्म पुग्ने यस लोकमार्गको आव २०६४/०६५ बाट निर्माण सुरु भएको हो । स्वदेशी पुँजीमा निर्माण भइरहेको यस आयोजनाका लागि सरकारले चालू आवका लागि २ अर्ब ८८ लाख रुपैयाँ विनियोजन गरेको छ । आयोजनाको हालसम्म ८९ किलोमिटर ग्राभेल र २५ वटा पुल निर्माण भएइसकेका छन् ।