न्युयोर्क, ९ असोज । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालको संविधानले सबै पक्षको भावनालाई सम्बोधन गरेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभालाई आज नेपाली प्रतिनिधिमण्डलको नेताका रुपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा महतले शान्ति प्रक्रियाको प्रमुख हिस्साका रुपमा संविधानसभाबाट संविधान जारी हुनु र त्यसमा सबै पक्षको भावना समेटिनु उल्लेखनीय रहेको बताए ।
संविधानमा असन्तुष्टि व्यक्त गर्दै आएका दल तथा समूहलाई पनि वार्ता र संवाद मार्फत सहमतिमा ल्याउन सरकार क्रियाशील रहेको उनले स्पष्ट पारे। नेपालको संविधान समावेशी, समतामूलक एवम् लोकतान्त्रिक रहेको भन्दै उनले राज्यका तीनवटा महत्वपूर्ण निकायमा महिलाको नेतृत्व रहनु विश्वमै उदाहरण रहेको बताए ।
