इन्द्रेणी संवाददाता
दाङ, ७ असोज । अब जुवा तास पनि संगठित रुपमा खेलाउने गरेको पाइएको छ । दाङको तुलसीपुरमा प्रहरीले संगठित रूपमा जुवा खेलाउने र मिटर ब्याजमा रकम असुली गरेकोे अभियोगमा गएराति दुई जनालाई पक्राउ गरेको छ ।

teenageतुलसीपुर क्षेत्रमा संगठित रुपमा जुवा खेलाउने, मिटर ब्याजमा रकम असुली गर्ने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङको प्रमुख धिरजप्रताप सिंहले बताए ।

जिल्लाबाट खटिएको प्रहरीको विशेष टोलीले बिहीबार तुलसीपुरबाट जुवा खेलाई मिटर ब्याजमा लगानी गरेको अभियोगमा तुलसीपुर–५ बस्ने ३४ वर्षीय विशालजंग शाह र तुलसीपुर–५ का ४० वर्षीय दीपु भन्ने दीपेन्द्र गिरीलाई पक्राउ गरिएको एसपी सिंहले जानकारी दिए । पक्राउ परेका दुबै जना यसअघि विभिन्न घटनामा कारबाहीमा परेको पनि एसपी सिंहले बताए । शाहलाई २०६६ साल माघ ८ गते तुलसीपुरमा बुद्धिबहादुर केसीलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा कर्तव्य ज्यानमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै गिरीलाई यसअघि जुवामा दुई पटक पक्राउ गरी कारबाही गरिएको व्यक्ति भएको प्रहरीले बताएको छ । दुबै जनालाई कारबाहीका लागि हिरासत राखिएको प्रहरीले जनाएको छ । तुलसीपुर क्षेत्रमा जुवा तास खेल्ने कार्य व्यापक रुपमा हुने गरेको भन्दै प्रहरीले विगतदेखि नै विशेष निगरानि गर्दै आएको छ ।