काठमाडौ ७ असोज । कैलालीको टीकापुरमा गत वर्ष भएको प्रहरी हत्यालाई राजनीतिक मुद्दा भनी उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले अडान लिएपछि प्रहरी नेतृत्व र गृहमन्त्रीबीच विवाद उत्पन्न भएको छ ।
मधेस आन्दोलनका क्रममा टीकापुरमा दुई वर्षे बालक र ८ प्रहरीको हत्या गर्ने आपराधिक व्यक्तिहरूमाथि लगाइएको मुद्दा फिर्ता लिन प्रक्रिया अघि बढाएकोमा नेपाल प्रहरी नेतृत्वले त्यसको चर्को प्रतिवाद र आलोचना गरेको छ ।
गृह र कानुन मन्त्रालय साथै सर्वोच्च अदालतको विगतको फैसलाले समेत प्रहरीको अडानलाई बल पुर्याएपछि गृहमन्त्री अहिले अफ्ठेरोमा परेका छन् ।
मधेस आन्दोलनका क्रममा विभिन्न व्यक्तिमाथि लगाएको मुद्दा फिर्ता लिने लिखित सहमति भएपछि मधेसी मोर्चाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेका थिए । त्यही समर्थनका आधारमा मोर्चाले झन्डै ५ सय हाराहारीमा मुद्दा फिर्ता लिनुपर्ने व्यक्तिहरूको नाम सरकारलाई बुझाएको थियो ।
सूचीमा हालै प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा भेटेका प्रहरीको खोजी सूचीमा रहेका सद्भावना पार्टीका स्थानीय नेता एवं टीकापुर प्रहरी हत्या प्रकरणका मुख्य योजनाकार रेशम चौधरीसमेत छन् ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले गृहमन्त्री निधिसँग गम्भीर प्रकृतिका मुद्दा फिर्ता लिए प्रहरी संगठन र प्रहरीको कार्यशैलीमा असर पर्ने बताएको स्रोतले उल्लेख गरेको छ । महानिरीक्षकको सुझाव सुनेपछि असन्तुष्ट बनेका गृहमन्त्री निधिले राजनीतिक विषयवस्तु भएकाले राजनीतिक ढंगले सुल्झाउन जसरी पनि उनीहरूको मुद्दा फिर्ता गरिने बताए ।
