काठमाडौं, ७ असोज । चाडपर्वको मुखैमा आएर राजधानीमा तरकारीको मुल्य आकाशिएको छ । तरकारीको भाउ साढे ३ सय प्रतिशतसम्म बढेको छ । गत वर्षको तुलनमा तरकारी आयात कमी आएको भन्दै मूल्यवृद्धि भएको तरकारी व्यापारीहरुले बताएका छन् ।
गत वर्ष प्रतिकिलो २८ रुपैयाँ थोक मूल्य पर्ने घ्यू सिमी अहिले ३ सय ४६ प्रतिशतले वृद्धि भएर १ सय २५ रुपैयाँ पुगेको छ । त्यस्तै ३५ रुपैयाँमा पाइने बोडी १०५, २५ रुपैयाँमै पाइने भान्टा ५२, ७५ रुपैयाँ पर्ने गाँजर १५५, र ४५ रुपैयाँ पर्ने तीते करेलाको मूल्य १०५ रुपैयाँ पुगेको छ ।
यसैगरी काँक्रो, गोलभेंडा, आलुलगायतका तरकारीको मूल्य पनि बढेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले गत वर्षभन्दा पानी बढी परेको र हावाहुरी आएकाले उत्पादन कम हुँदा तरकारीको मूल्यवृद्धि भएको बताए ।
“अहिले सिमी, बोडी, घिरौंलालगायतका तरकारीको सिजन हो,” उनले भने, “तर यसै अवधिमा सो¥हश्रद्धा परेकाले तरकारीको मागसमेत बढ्छ र बजारमा मूल्यसमेत वृद्धि हुन्छ ।”
