इन्द्रेणी संवाददाता
घोराही, ६ असोज । नेकपा एमाले दाङका देखिएको सदस्यता प्रमाणिकरणको विवाद हल भएको छ । नेकपा एमाले दाङका संगठन विभाग प्रमुख हिराचन्द्र केसीले काठमाडौबाट दिनुभएको जानकारी अनुसार हिजो नेकपा एमालेका केन्द्रीय सचिव तथा संगठन विभाग प्रमुख पृथ्वीसुव्वा गुरुङले दाङको सदस्यता प्रमाणिकरण गरेका हुन् ।

cpn-umlयसअघि केन्द्रीय उपमहासचिव विष्णु पौडेलले प्रमाणिकरणका लागि सिफारिस गरेका थिए । एमाले दाङमा देखिएको विवाद मिलाउन आएका उपमहासचिव विष्णु पौडेलले सदस्यता प्रमाणिकरण गर्नका लागि आफूले सहयोग गर्ने बताएपछि एमाले दाङका जिल्ला इञ्चार्ज मेटमणि चौधरी, जिल्ला अध्यक्ष जोगवहादुर राना र जिल्ला संगठन विभाग प्रमुख हिराचन्द्र केसी काठमाडौं पुगेका थिए ।

जिल्लामा नविकरण गरेका, नयाँ सदस्यता लिएका र अर्को पार्टीबाट आएकाहरुको सदस्यता प्रमाणिकरण गरिएको छ । जिल्ला संगठन विभाग प्रमुख केसीका अनुसार नेकपा एमाले दाङमा आवद्ध रहेका करिव चार हजार जनाको प्रमाणिकरण भएको छ । सदस्यता प्रमाणिकरण पश्चात नेकपा एमाले दाङको जिल्ला अधिवेशन यहि असोजको १२ गतेदेखि गर्ने बाटो खुलेको छ ।