काठमाडौ, ६ असोज । सरकारी अनुगमन टोलीले सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशनले संचालन गरेको सुपथ मुल्य पसलमा चिनीको विक्रीमा रोक लगाएको छ ।

downloadसरकारी अनुगमन टोलीले साल्ट ट्रेडिङले तौल घटाएर उपभोक्तालाई ठगेको फेला परेपछि चिनीकाविक्रीमा रोक लगाएको हो । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले बुधबार जावलाखेलस्थित साल्ट ट्रेडिङको पसलको अनुगमन गर्दा चिनीका प्याकेटमा तौल कम रहेको फेला परेको छ । अनुगमन टोलीले २० वटा प्याकेट जोख्दा १७ वटामा तौल कम रहेको फेला प¥यो ।

साल्ट ट्रेडिङले उपभोक्ताहरुलाई तयारी अवस्थामा रहेका चिनीका प्याकेट जोख्दै नजोखी विक्री गर्दै आएको छ । विभागका संरक्षण अधिकृत विष्णुप्रसाद सुवेदीले २ केजीका सबैजसो प्याकेटमा २५ देखि ३० ग्रामका दरले तौल कम रहेका कारण चिनी विक्रि नगर्न निर्देशन दिएको बताए।

विभागको अनुगमनका क्रममा तौल कम भएको फेला परेपछि ३ घण्टासम्म लाइन बसेर खरिद् गरेका उपभोक्ताले चिनी फिर्ता गरे भने कतिपय उपभोक्ता खरिद् नै नगरी फर्किएका थिए । सरकारी निर्णय अनुसार साल्ट ट्रेडिङ कर्पोरेशनले काठमाडौ उपत्यकाका विभिन्न ११ वटा स्थानमा असोज १ गतेदेखि सुपथ मुल्यका पसल संचालन गरिरहेको छ ।