दीपबहादुर घर्ती
जाजरकोट, ४ असोज । रोकायगाउँ–७ ध्यारगाउँकी रति गिरी आर्थिक अभावले मुटुको भल्व उपचार गराउन नसकेर समस्यामा परेकी छन् । मुटुको भल्व उपचारको लागि चाहिने आर्थिक श्रोत उनीसंग नभएपछि समस्यामा परेकी हुन् ।

३० वर्षिय रति गिरी मुटुको भल्व उपचारका लागि लाग्ने आर्थिक नभएपछि जाजरकोट जिल्ला अस्पतालको वेडमा पल्टि रहेकी छन् । अक्सिजन दिएर गिरीको श्वासप्रश्वासको लागि सहयोग गर्नु वाहेक जिल्ला अस्पताल जाजरकोटसंग विकल्प नभएको अस्पताल प्रशासनले जनाएको छ ।
मुटुको भल्वको खरावी जाँच गर्नलाई ईको गर्नु पर्ने र ईको गर्ने व्यवस्था नभएकाले जिल्ला अस्पतालवाट केही पनि गर्न नसकिने गिरीको उपचारमा सम्लग्न डाक्टर सुनिल पुनले वताए । मुटुको भल्वमा आएको खरावीका कारण गिरीको फोक्सोमा पानी जमेको डा. पुनको भनाई छ । प्रेसर निकै कम्जोर भएकी गिरीलाई पिसाव चलाउने औषधि पनि दिन नमिल्ने, पिसाव चलाउने औषधी दिन सकेको भए फोक्सोमा जमेको पानी पिसाववाट कम गर्न सकिने डा. पुनको भनाई रहेको छ ।
मुटुको भल्व सम्बन्धीका विरामीहरु काठमाण्डौंमा रहेको गंगलाल हृदय केन्द्रमा लिएमा उपचार गर्न सकिने डा. पुनको भनाई छ । तर, रति गिरीलाई काठमाण्डौं सम्म पुर्याउने भाँडा सम्म आफुसंग नभएको लोग्ने नरेन्द्र गिरीले वताई रहेका छन् । मजदुरी गरेर स्वास्नीको उपचार गर्ने मनसाय राखेका नरेन्द्रले दुई पटक स्वास्नीलाई भारतको कालापहाड सम्म पुर्याएको तर, उपचार सम्भव नभएको नरेन्द्रले वताए । अघिल्लो पटक स्वानीलाई भारत किनोरको नारकण्ड पुर्याएका नरेन्द्रले यसपाली पनि श्रीनगरमा पुर्याएर उपचार गराएको तर, काम गरेर कमाएको पैसाले उपचार खर्च नपुगेपछि नेपाल फिर्ता भएको उनको भनाई छ ।
भारतमा लिएर उपचार गराउनु पूर्व रुकुम चौरजहारीमा रहेको मिसन हस्पिटलमा लिएर ६ महिना सम्म टिवीको औषधी खुवाएको पनि नरेन्द्रले जानकारी दिए । आफुहरु विच विवाह १२ वर्ष पहिले भएको र रति गिरी विरामी हुन थालेको ११ वर्ष पुगि सकेको नरेन्द्रले जानकारी दिए ।
विरामी रति गिरीलाई हाल मुटु दुख्ने, शास फेर्न निकै गाह्रो हुने, शासप्रश्वास निकै छिटो–छिटो चल्ने, खाना त्यति मन नपर्ने, शरिर निकै कम्जोर हुदै जानु लगाएतका समस्याहरु देखा परेका छन् । कम्जोर शरिर भएकी रति गिरीलाई दिसा, पिसाव गराउन सौचालय सम्म पनि ह्वल चेरको सहायतामा लिने र ल्याउने गरिएको छ ।
गिरीका दुई छोरा र एक छोरी रहेका छन् । जेठो छोरा १० वर्षको सुरेन्द्र गिरीलाई आमाको उपचार गर्नु पर्ने वाध्यताले ईन्डियामै अर्काको घरमा छोडर आफुहरु नेपाल फर्किएको नरेन्द्रले वताए । ३ वर्षिय छोरी लक्ष्मी गिरी र १ वर्षिय छोरा प्रेम गिरी आमा, वुवासंगै हाल जाजरकोट जिल्ला अस्पतालमै छन् ।
झण्डै एक दशक लामो समय देखि विरामी परेकी स्वास्नीका कारण घरमा गाई, भैसी केही पनि पाल्न नसकेको नरेन्द्रको भनाई रहेको छ । घरमा सम्पतिका नाममा गाउँको ३ रोपनी पाखो मात्र भएको नरेन्द्रले वताए ।











