काठमाडौं, ४ असोज । सरकारले नेपाली सेनालाई आफूलाई आवश्यक सैनिक सामग्री आफैंले उत्पादन गरी आत्मनिर्भर बनाउन करिब १५ अर्ब रुपैयाँ दिने भएको छ । मुलुकका विभिन्न स्थानमा सेनाले सञ्चालन गर्दै आइरहेका प्लान्ट मजबुत बनाई सैनिक सामग्री उत्पादनलाई बढावा दिन सरकारले यो रकम दिन लागेको हो ।

19434_5280ad91f1283-386x267सरकारले नेपाली सेनाले एम्युनिसन, अक्सिजन र डेटोनेटर प्लान्टलगायतका नयाँ उत्पादन र सञ्चालन भइरहेका उद्योगलाई थप व्यवस्थित स्थानमा स्थानान्तरण गर्ने योजनालाई पनि अघि बढाएको छ । मन्त्रिपरिषदको २०७३ साउन ७ को निर्णयअनुसार नयाँ एम्युनिसन उत्पादन प्लान्ट, डेटोनेटर प्लान्टलगायत स्थानान्तरण र स्थापना गर्न १४ अर्ब ७५ करोड रुपैयाँको सहमति दिएको थियो ।

उक्त रकम दिन अर्थ मन्त्रालय सहमत भए पनि रक्षा मन्त्रालय र नेपाली सेनाले भने कहाँ नयाँ प्लान्ट खोल्ने र भइरहेका प्लान्टहरूलाई कहाँ व्यवस्थित रूपमा स्थानान्तरण गर्ने भन्ने योजना प्रस्ताव गर्न सकेका छैनन । रक्षा मन्त्रालयका प्रवक्ता शिव सिम्खडाले प्लान्ट स्थापना तथा स्थानान्तरणबारे एक कार्यदल गठन गरेर अघि बढ्ने योजना रहेको बताए ।