काठमाडौं, ३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका भ्रमण रद्द गरेका छन् । संविधानप्रति विमति जनाउँदै आएका मधेसी, थारूलगायतका पक्षलाई समेटेर संविधान संशोधन प्रस्ताव अगाडि बढाउने र संविधान सर्वस्वीकार्य बनाउँदै कार्यान्वयनमा लैजाने प्रतिबद्धतालाई गति दिन प्रधानमन्त्रीले भ्रमण रद्द गरेको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जानकारी दिए ।
संयुक्त राष्ट्रसंघको ७१औँ महासभामा भाग लिन प्रधानमन्त्री सोमबार बेलुकी अमेरिका जाने कार्यक्रम थियो । चारदिने भारत भ्रमणबाट फर्केको भोलिपल्टै प्रधानमन्त्री एक साता लामो अवधिका लागि अमेरिका जान लागेका थिए । प्रधानमन्त्रीले भ्रमण रद्द गरेकाले अब परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नै नेपालको प्रतिनिधित्व गर्नेछन् । उनी शनिवा राति नै भारतको नयाँ दिल्लीबाट अमेरिका प्रस्थान गरिसकेका छन् ।