इन्द्रेणी संवाददाता
घोराही, २ असोज । ब्रेभ गोर्खा ट्रेनिङ सेन्टर घोराहीले भारतीय सेनामा भर्ती हुन सफल युवाहरुलाई विदाइ गरेको छ । सेन्टरबाट ट्रेनिङ गरेर यही भदौ २६ गते नेपालगञ्जमा भएको भर्ना छनोटबाट छनोट हुन सफल २१ जना युवाहरुलाई आज कार्यक्रमको आयोजना गरी औपचारिक रुपमा विदाइ गरेको हो ।

सेन्टरका सञ्चालक सञ्जु केसीको अध्यक्षता तथा दाङ जिल्ला सैनिक बोर्डका सेक्रेटरी भिमबहादुर थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उनीहरुलाई अविर खादा लगाएर विदाइ गरिएको थियो ।

कार्यक्रममा ईण्डीयन आर्मी क्याम्प चौघेराका सुवदार मेजर टेकमान बुढा, नेपाल पत्रकार महासंघ दाङका सदस्य आर.के. शितल, स्थानीय शान्ति समितिका सदस्य कुलबहादुर घर्ती, जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष कैलाश रोका, एमालेका भोजराज वलीलगायतले शुभकामना दिएका थिए ।