garibकाठमाडौँ, २ भदौ । वास्तविक गरिबलाई केन्द्रित गरी सञ्चालन गरिएको गरिबसँग विश्वेश्वर कार्यक्रम बजेटको अभावमा थप गाविसमा विस्तार हुन सकेको छैन ।

२०५६ सालमा सुरु गरिएको कार्यक्रम ७५ जिल्लाका विपन्न ४८३ गाविसमा सञ्चालन भए पनि बजेट पर्याप्त नहुँदा कार्यक्रम विस्तार भने हुन नसकेको हो ।

चालू आर्थिक वर्षका लागि सरकारले उक्त कार्यक्रम सञ्चालनका लागि १६ करोड रुपियाँ प्रदान गरेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । उक्त बजेटबाट प्रतिगाविस एक लाखदेखि एक लाख ५० हजार रुपियाँसम्म कार्यक्रम सञ्चालनका लागि खर्च गरिने भएको छ ।

कार्यक्रम सञ्चालनका लागि विपन्न परिवार बसोबास भएको गाविस छनोट गर्ने र उक्त गाविसको पनि विपन्न समुदायका विपन्न परिवारलाई लक्षित गरी उहाँहरूको आयआर्जन, सामाजिक, आर्थिक, सीप विकास, व्यवसाय व्यवस्थापन तालिम लगायतका कार्यक्रम प्रदान गरी विपन्न वर्गलाई न्यून आर्थिक स्थितिबाट माथि उठाउने काममा उक्त बजेट खर्च हुने गरेको छ ।