उदय बीसी
दाङ, १ असोज । कुनैवेला दाङमा ठूलो चर्चाको विषय बनेको थियो नेपालकै ठूलो चक्रपथ दाङमा बन्ने भयो भनेर । चर्चा पनि किन नबनोस्, यो दाङको लागी गौरवको योजना थियो । यो चक्रपथको योजना राष्ट्रिय विकासे योजना तथा नीति निर्माण बन्ने सम्म पनि नपुगेको होइन तर, सात वर्ष भयो अहिले घोराहीको चक्रपथ योजना कहाँ छ भनेर खोज्नुपर्ने अवस्था आएको छ ।
यो योजना सफल पार्छाै भन्ने व्यक्ति तथा निकायले पनि पछिल्लो समयमा योजनाको नामै भूले जस्तो भएको छ । शुरुमा चक्रपथको अवधारण ल्याउने घोराही नगरपालिकामा पहिले चक्रपथ निर्माणका लागि एउटा कोठामा छुट्टै कार्यालय समेत खोलिएको थियो । तर अहिले आएर त्यो कार्यालय पनि छैन । चक्रपथ निर्माण उपभोक्ता समिति थियो त्यो समिति अहिले कहाँ र कुन अवस्थामा छैन पत्तो छैन ।
घोराही नगरपालिकाले आर्थिक वर्ष २०६६÷०६७ अर्थात १३ औं नगरपरिषदबाट करीव २८ किलोमिटर लामो नगरस्तरीय चक्रपथ निर्माणको योजना अघि सासेको हो । त्यो पनि नेपालकै सबैभन्दा लामो चक्रपथको रुपमा । काठमाडौंको चक्रपथको लम्बाइ जम्म २७ किलोमिटर छ त्यसैले पनि यो चक्रपथ नेपालकै ठूलो हो । तर योजना अघि सारेपछि त्यो नगरपालिकाका लागि अत्यन्त महत्वकाक्षी भयो ।
चक्रपथको काम शुुरु भएको झण्डै सात वर्ष वित्तिसक्दा पनि उपलव्धिमुलक काम हुुन सकेको छैन । चक्रपथ विस्तारको नाममा केही वर्ष पहिले घोराही–१ सर्रादेखि पचुर्कासम्म नयाँ र पूरानो गरी करीव चार किलोमिटर ट्रयाक निर्माण गरियो तर, त्यसले खासै सार्थकता पाएन । त्यसपछि घोराही–६ रानीजरुवादेखि पिपलखालीसम्म करीव दुुई हजार पाँच सय मिटर नयाँ ट्रयाक खोल्ने भनियो त्यो पनि उपभोक्तामैत्री भएन अनि अगाडी वढ्न सकेन ।
चक्रपथ निर्माणका लागि केही प्रयास भएपनि सात वर्षको अवधिमा हुनुपर्ने उपलव्धी भएन त्यसमा पनि अहिले चक्रपथको नामै लिन छाडिएको छ । चक्रपथ निर्माणका लागि यसअघि नै बनाउनुपर्ने कानुुनी आधार नै तयार नगरेर काम गर्न खोज्नले अहिले चक्रपथको योजना अलपत्र परेको घोराही नगरपालिकाका कार्यकारी अधिकृत तुफानसिंह केसीले बताए । ‘कुनै पनि काम गर्दा कानुनी आधार तयार पार्न जरुरी हुन्छ, त्यो कार्य नभएका कारण काम अघि वढ्न सकेका होइन’, उअनले भने । चक्रपथ निर्माणका लागि आवश्यक ५१ प्रतिशत उपभोक्ताको समहति नलिएर चक्रपथको काम अघि वढाउन खोज्दा धेरै उपभोक्ताहरुले अदालतमा मुद्दा पनि दायर गरेका थिए ।











