काठमडौ २९ भदौ । भोलिदेखि ४ दिने भारत भ्रमणमा जान लाग्नुभएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहानैदेखि विभिन्न बैठक र छलफलमा व्यवस्त हुनुहुने भएको छ । अहिले केहीबेरमा पार्टीको आन्तरिक बैठक शुरु हुँदैछ भने दिनभर पनि अरु विभिन्न पक्षसँग छलफल र बैठक तय भएको उहाँको सचिवालयले जानकारी दिएको छ ।
पार्टी अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भोलिदेखिको भारत भ्रमणको विषयमा छलफल गर्न पार्टीको कार्यालय बैठक बस्न लागेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । यस्तै दिउँसो १ बजे मधेसी मोर्चा र गठबन्धनका नेताहरुसँग छलफल तय भएको छ । सरकार गठनका बेला भएको सहमति कार्यान्वयनमा ढिलाइ भएको भन्दै असन्तुष्ट बन्दै आएका मोर्चा र गठबन्धनसँग सहमति कार्यान्वयनको विषयमा छलफल हुन लागेको हो ।
साथै प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा पनि बैठकमा छलफल हुने एक नेताले जानकारी दिए । दिउँसो ३ बजे भने मन्त्रिपरिषदको बैठक बोलाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बस्न लागेको हो । बैठकले भोलिदेखिको प्रधानमन्त्रीको भारत भ्रमणमा सहभागी हुने भ्रमण दलका सदस्यहरुको नाम अनुमोदन गर्ने एक मन्त्रीले जानकारी दिए ।
