काठमाडौँ, २९ भदौ । नेपाली काँग्रेस निकट नेपाल महिला सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन आज देखि काठमाडौँमा सुरु हुँदैछ ।
भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने उद्घाटन समारोहका लागि सम्पूर्ण तयारी पूरा भएको सङ्घकी प्रवक्ता निर्मला क्षेत्रीले जानकारी दिनुभएको छ ।
महाधिवेशनमा भाग लिन देशभरबाट करिब दुई हजार दुई सय महिला प्रतिनिधि काठमाडौँ पुगेको उहाँले जानकारी दिनुभयो । प्रतिनिधिहरूलाई विभिन्न होटलमा राखेर सङ्घको तर्फबाट आवास र खानाको व्यवस्था गरिएको छ । सानेपास्थित पार्टी कार्यालयमा प्रतिनिधिहरूको रजिस्ट्रेसन गर्ने व्यवस्था मिलाइएको छ ।
बुधबार उद्घाटन सत्र हुनेछ भने ३० गते सोही स्थानमा बन्द सत्र गरेर सङ्घको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । ३१ गते निर्वाचन कार्यक्रम राखिएको छ । महिला सङ्घको निवार्चनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने तयारी भएको छ । निर्वाचनले ६५ जनाको कार्यसमिति चयन गर्नेछ ।
