काठमाडौं, २८ भदौ । श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयनको माग गर्दै क्रान्तिकारी पत्रकार संगठन, नेपालले सरकारसँग माग गरेको छ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीलाई ज्ञापन पत्र बुझाउँदै संगठनले सरकार आफैले जारी गरेको ऐन आफैले कार्यान्वयन गर्न हिच्किचाउन नहुनेमा पनि जोड दिएको छ ।
सिंहदरवारस्थित सञ्चार मन्त्रालयमा संगठनका केन्द्रीय अध्यक्ष प्रभात चलाउनेको नेतृत्वमा पुगेको टोलीले पत्रकारहरुको न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउन सरकार नलागेमा संघर्षका कार्यक्रममा उत्रने चेतावनी पनि दिएको छ । १९ बुँदे मागहरुसहितको ज्ञापन पत्र बुझाउँदै संगठनका अध्यक्ष प्रभात चलाउनेले राज्य निरन्तर उदार भइरहेको तर राज्य सञ्चालनको तहमा पुग्नेहरुको नियत भने निरंकुश बन्दै गएको बताए ।
उनले प्रजातन्त्र भनेर रटान लगाउनेहरु नै प्रजातन्त्रको घाँटी रेटन लागेको बताउँदै राज्यले आफ्नो अडानमा दृढ रहनुपर्नेमा जोड दिए । सञ्चारमाध्यममा कार्यरत श्रमजीवीहरुको पारिश्रमिक अत्यन्तै न्यून रहेको, त्यही पनि समयमा नपाउने गरेको, नियुक्ति पत्र विना नै इन्टर्न्सिपका रुपमा काम लगाउने गरिएको बताउँदै उनले यसको समाधान गर्न आएको श्रमजीवी पत्रकार ऐन जारी भएको २२ वर्षसम्म पनि पूर्ण कार्यान्वयनमा नआएको उनले बताए ।
जारी तथा विद्यमान ऐन, कानुनको कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको भएको बताउँदै अध्यक्ष चलाउनेले सरकारलाई यथासक्य चाँडो ऐन कार्यान्वयनमा जुटन आग्रह गरे । दशै तिहार, इद, छठ लगायतका पर्वहरु नजिकिदै गर्दा यसअघि सरकारले नेपाल राजपत्रमा प्रकाशित गरेको पत्रकारहरुको न्यूनतम पारिश्रमिक नगर्ने भन्दै मिडिया सञ्चालकहरुले विज्ञप्ती मार्फत गरेको घोषणाप्रति पनि उनले आपती जनाए ।।











