बिष्णु कुमार देवकोटा
कुनै बेला थियो जति बेला सिद्धहस्त नर्तक तथा नर्तकीहरु स्टेजमा आफ्नो प्रस्तुति दिंदा १६ बर्षे ठिटो मन्त्रमुग्ध हुन्थ्यो भने आज त्यहि २० बर्षे ठिटाले स्टेज प्रस्तुति दिंदा दर्षकहरु मन्त्र मुग्धहुन्छन् । उद्घोषकले उनको नाम लिंदा आम दर्शकहरुको हृदयको धड्कन बढ्न थाल्छ, एक प्रकारको छटपटि सुरुहुन्छ दर्शक दीर्घामा, सयौ हातहरु उनि तर्फ सोझिन्छन, हजारौ मोवाईल सेटहरु भिडियो मोडमा तेर्सिन्छन्, तरररर ताली र उत्साहपुर्ण नजरहरुको तिरहरु सोझिन्छन् , दर्शकहरुको मनमा एक प्रकारको तरंग पैदा हुन्छ, मस्तिस्कमा झन्कार पैदा हुन्छ, उनको नसा नसामा , हरेक रक्त कोषिकाहरुमा नृत्य छ श्रीर्फ नृत्य उनि अर्थात बसन्त चौधरी ।
साविक नारायणपुर गा।वि।स वडा नं ७ जलौरामा माता स्व। जानकी चौधरी र पिता बुद्धि प्रकास चौधरीको कान्छो सुपुत्रको रुपमा आज भन्दा २० बर्ष अघि २०५३ साल भाद्र १० गते जन्मिएका बसन्त चौधरीले नृत्यको क्षेत्रमा आफ्ना दह्रो पद चिन्हहरु छोड्दै आज नृत्य क्षेत्रलाई नै आफ्नो जीवनको मुल ध्येयको रुपमा लिई नृत्य क्षेत्रमा संघर्षरत छन् ।
२०६९ सालबाट दाङको घोराही स्थित आश्था कलाकेन्द्र बाट नृत्य प्रशिक्षण लिन सुरुगरेका बसन्तले ससम्मान आफुलाई नृत्यमा पारंगत बनाउने गुरु पबित्रा पुन प्रति हार्दिक सम्मान एवं अभिनन्दन प्रकट गर्दे नारायणपुर बाट घोराही नृत्य प्रशिक्षण लिन आउँदा सन्ध्याकालमा घर फर्कन यात्रुवाहक सवारी साधन नपाउँदा कयौपटक म्यारानथ मा भाग लिएझैं घर फर्किने गरेको अविस्मरणीय संघर्षमय क्षणकोरुपमा मुस्कुराउँदै बताउँछन् ।
“यसै बर्ष आमाको असामयिक निधनले आफु टुहुरो भएको छु” अश्रुमिश्रित स्वरले भक्कानिदै बसन्तले भने । “मेरो नृत्यक्षेत्रमा लाग्ने अबिराम प्रेरण दिने महान नायिकाको निधनले मैले आमा मात्र होईन एक असल सहयोगी गुमाएको छु । ” सम्हालिदै बसन्तले भने । “तर म एक्लो छैन नृत्य लाई माया गर्ने हरेक मेरो आमा, वुवा दाजु भाउजु,दिदी बहिनि हो ” । बसन्तको जीवनमा दुःखका क्षणहरुमात्र होईन उत्साहका धेरै अविस्मरणीय क्षणहरु नभएका भने होईनन् ।
झट्ट हेर्दा कुनै नेपाली सिने जगतका चकलेटी नायक जस्ता देखिने, अग्लो कद काठी, गोह्रो वर्ण, हमेसा झुण्डिरहने मधुर मुस्कान,काम प्रतिको लगाव र नृत्य र नृत्य लाई मायागर्नेहरुलाई पु्जा गर्ने, अग्रजहरुलाई सम्मान गर्ने भद्र तथा शालिन व्यक्तित्वका धनि बसन्त चौधरी एक नर्तक मात्र हुन् भन्दा कन्जुस्याई होला , उनि एक खतरनाक स्टन्ट म्यान पनि हुन ।
उत्सर्ग डान्सिङ्ग स्टार सिजन प्रथममा तेश्रो स्थान हासिल गरेपस्चात नृत्य क्षेत्रमा चम्कदै गरेका बसन्त चौधरी नारायणपुर उद्योग बाणिज्य संघले २०७० सालमा आयोजना गरेको महोत्सवमा मा आफ्नो एकल प्रथम स्टेज प्रस्तुति बाट दर्शकहरुको मन जित्न सफल भएका हुन् ।
पछिल्लो समयमा नारायणपुरमा बि फ्रिडम डान्स एकेडेमि संचालन गर्दे नृत्य प्रशिक्षण समेत गरेका बसन्त चौधरी स्टेजमा जम्दै छन् । दाङमा आयोजना हुने बिभिन्न मेला, महोत्सव तथा साँगितिक कार्यक्रमहरुमा दलबल सहित प्रस्तुति दिन पुग्ने बसन्तको माग स्टेज कार्यक्रमहरुमा ह्वात्तै बढेको छ । भविस्यमा एक सफल मोडल तथा डान्स कोरियोग्राफर बनेर आमाको सपना साकार पार्ने मुल लक्ष्य लिएका बसन्त लाई लोक,मोडर्न,हिपहप,बि बोईङ्ग,डबस्टेप,लकिङ्ग,कल्चरल, बलिउड, पपिङ्ग जस्ता नृत्यबिद्याहरुको ज्ञान रहेको छ ।
हाल उनिसंग १ सय २३ जना प्रशिक्षार्थीहरु प्रशिक्षणमा छन् । दाङ,सल्यान लगाएतका जिल्लाहरुमा आफ्नो नृत्यको जादु चलाईसकेका चौधरी ले स्टेज प्रस्तुतिको संदर्भमा कुरा गर्दा धनौरी युवा संजालले यहि पौष ३० र माघ १ र २ गते धनौरीमा राखेको तीन दीवसिय माघि महोत्सवमा एक खतरनाक स्टन्ट गर्दा स्टेजनै भाँचिएको कुरा कम्ति रोचक र चर्चित छैन ।
“झण्डै खुट्टा भाँचिएन” बसन्तले भने । “त्यसैले त म भन्छु मेरो नसा नसामा नृत्य छ ” आफु नृत्यमै समर्पित रहेको पुस्टि गर्दे बसन्तले भने । नृत्य का लागि जुनसुकै हद सम्म पुग्न सक्ने बसन्तले नृत्यमै आफ्नो क्यारियर देखेका छन् ।
यो भौतिक वादी दुनियाँमा आमा वुवाको सपना साकार गर्ने लक्ष लिएका नर्तक बसन्त लाई हाम्रो तर्फबाट पनि बाबा नाट्यश्वरको शुभ आषिस मिलोस हार्दिक सफलताको सुभकामा ।