इन्द्रेणी संवाददाता
दाङ, २८ भदौ । मेहनत गर्न सके घरमै सुन फलाउन सकिन्छ भन्ने उदाहरण दाङका एक कृषक बनेका छन् । दाङको पहाडी गाविस काभ्रे–४ बाँघी निवासी दोर्ण केसीले आफ्नै वारीमा व्यवसायिक टमाटर खेती गरेर वर्षेनी राम्रो आम्दानी गर्दै आएका छन् ।
वेरोजगारीको समस्या देखाउदै दैनिक हजारौं युवाहरु विदेशिरहेको वेला केसीले आफ्नै दश कट्ठा वारीमा गरेको व्यवसायिक टमाटर खेतीबाट एक सिजनमा ३ लाख रुपैयाँ भन्दा वढी आम्दानी गर्ने गरेका छन् । ‘म पनि पहिले पैसा कमाउन भारत भएको हुँ तर पैसा कमाउन सकिएन’, केसीले भने, ‘गरे कसो नहोला भनेर टमाटर लगाएको हुँ अहिले आम्दानीबाट सन्तोषजनक छु ।’
कृषक केसी पैसा कमाउन २० वर्षसम्म भारतको चण्डिकटको एक होटलमा काग गरे । तर उनले भनेको जति पैसा कमाउन सकेनन् । होटलमा प्रायको खप्की खानु मात्रै उनको हात प¥यो । अनि उनी त्यहाँ गरेको मेहनेतलाई आफ्नै घरमा आएर प्रयोगमा ल्याए । त्यहाँ गर्ने मेहनेत आफ्नै वारीमा गर्दा त्यहाँको भन्दा राम्रो आम्दानी गर्न सकिने अनुभव भएको केसीले बताउछन् । ‘मेहनेत गर्न सके घरमै सुन फलाउन सकिदो रहेछ, अहिले मलाई यो व्यवसायिबाट त्यस्तै महसुस भइरहेको छ’, उनले भने ।
२० वर्षसम्म चण्डिकटमा कमाएको २०÷३० हजार रुपैयाँको लगानीमा गरेको व्यवसायिक टमाटर खेतीबाट केसीले आफूले मात्रै आम्दानी गरेका छैनन् । उनले मासिक १५ हजार तलव दिएर गाउँका तीन जनालाई रोजगारी पनि दिएका छन् । अहिले कृषक केसीले आफूले उत्पादन गरेको टमाटर स्थानीय कमिरेचौर बजार र घोराही बजारसम्म ल्याएर विक्री गर्दै आएको छन् । टमाटर खेतीको लागि राम्रो सम्भावना भएकाले आफूले अझै ठूलो परिमाणमा टमाटर उत्पादन गर्न सकिने र त्यसका लागि बजार व्यवस्थापनको केही समस्या देखिएको उनको भनाइ छ । पहिलो पटक ठूलो परिमाणमा काभ्रेमा व्यवसायिक टमाटर खेती गरेर केसी त्यहाँ चर्चित पनि भएका छन् ।











