prachandaकाठमाडौँ, २६ भदौ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणलाई चुनौतीपूर्ण अवसरको रुपमा लिएको बताउनुभएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिलाई भदौ ३० देखि असोज २ गतेसम्मको आफ्नो भारत भ्रमणबारे आज जानकारी दिँदै प्रधानमन्त्री दाहालले दुई देशबीचको सम्बन्धमा आसन्न भ्रमणले नयाँ अध्याय थप्ने विश्वास व्यक्त गर्नुभयो ।

एक वर्षअघिका केही तीतामीठा अनुभवसहित दुई देशको सम्बन्धलाई सामान्यीकरण मात्रै होइन सुदृढ गर्नका लागि आधार खडा गर्ने र विश्वासको बलियो आधार तयार गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाने भनेपछि सामान्यता बढी आशा, जिज्ञासा र शङ्का पैदा हुने गरेको बताउँदै आफ्नो भ्रमण नयाँ सन्धि, सम्झौता गर्ने भन्दा पुराना सन्धि, सम्झौता कार्यान्वयनमा केन्द्रित हुने स्पष्ट पार्नुभयो ।

भूकम्पपछिको पुनःनिर्माणमा थप सहयोग, ऊर्जा व्यापार सम्झौता पिटिए र जल विद्युत्सम्बन्धी विगतका सम्झौता कार्यान्वयन र हुलाकी राजमार्ग निर्माणका विषयमा छलफल हुने उहाँको भनाइ छ ।

बैठकमा सांसदहरुले राख्नुभएको भावना र सुझाव लिएर राष्ट्रको हितमा काम गर्ने प्रतिवद्धता प्रधानमन्त्री दाहालले व्यक्त गर्नुभयो । शनिबार एक कार्यक्रममा प्रधानमन्त्रीले जोखिम मोल्ने भनी दिएको अभिव्यक्तिप्रति आजको बैठकमा सांसदहरुले प्रश्न उठाएपछि प्रधानमन्त्रीले आफूले सो कुरा सकारात्मक रुपमा प्रयोग गरेको र त्यसलाई त्यही रुपमा लिन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री दाहालले असन्तुष्ट पक्षको माग सम्बोधन गर्न संविधान संशोधनका लागि छलफल चलिरहेको र छलफल सहमति नजिक पुगेकोे जानकारी दिनुभयो ।प्रधानमन्त्रीले आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्दै लैजानेमा आफ्नो ध्यान केन्द्रित रहेको बताउनुभयो ।

आफू सोमबार मधेस जान लागेको र मधेसी जनताको समेत विश्वास लिएर भारत जाने उहाँको भनाइ छ । भारत भ्रमणबारे छलफल गर्न यही भदौ २८ गते सबै पार्टीको बैठक बोलाएको जानकारी पनि उहाँले दिनुभयो ।

प्रधानमन्त्री दाहालको भदौ ३० गते भारत जाने र असोज २ गते स्वदेश फर्कने कार्यक्रम छ । भदौ ३० गते नेपालीकै बीचमा बढी भेटघाट हुने, दूतावासमा स्वागत कार्यक्रम हुने र विदेशी पाहुनालाई बोलाएर अन्तक्र्रियात्मक कार्यक्रम गर्ने कार्यसूची रहेको प्रधानमन्त्रीले समिति बैठकमा जानकारी दिनुभयो ।

दोस्रो दिन ३१ गते औपचारिक भेटघाट, असोज १ गते हिमाञ्चल प्रदेशको हाइड्रो प्रोजेक्टको अवलोकन भ्रमण र सोही दिन बेलुका नयाँ दिल्लीमै फर्किएर त्यहाँका बुद्धिजीवीसँग अन्तक्र्रिया गर्ने प्रधानमन्त्रीको कार्यक्रम रहेको छ ।

बाबा रामदेवले सञ्चालन गरेको पतञ्जलि योगपिठको कारखाना अवलोकनको कार्यक्रम २ गतेका लागि तय गरिएको छ भने साँझ स्वदेश फर्कने कार्यक्रम छ ।