अमेरिका सिरियामा चलिरहेको द्वन्द्व समाधानका लागि एकीकृत प्रयास गर्न अमेरिका र रुस सहमत भएका छन् । आउँदो सोमबार सूर्यास्तसँगै सिरियाको विषयलाई लिएर दुई देशबिच उत्पन्न भएको शत्रुता अन्त्य गर्न दुई देश सहमत भएका हन् । सोमबारदेखि सिरियामा बिद्रोही विरुद्ध एकीकृत कारबाही अभियान चलाउन दुई देश सहमत भएका छन् ।
यस्तै सिरिया सरकारलाई विपक्षीको नियन्त्रणमा रहेको क्षेत्रमा सैन्य कारबाही रोक्न आग्रह गरिनेछ । अमेरिकी विदेश मन्त्री जोन केरीका अनुसार त्यसका लागि अमेरिकाले संयुक्त केन्द्र स्थापना गर्नेछ र त्यही केन्द्रमार्फत इस्लामिक स्टेट आइएस तथा अल–नुस्रा विरुद्ध संयुक्त कारबाही अभियान चलाइनेछ ।
जेनेभामा जोन केरी र रुसी विदेशमन्त्री सर्गेइ लाभरोभबिच भएको छलफल पछि दुई देशले सिरिया मुद्दामा एक भएर लाग्ने घोषणा गरेको रोयटर्स जनाएको छ । तर यसका लागि सिरिया सरकार र विपक्षी दुवैले सहयोग गर्नुपर्ने अमेरिकी विदेश मन्त्री केरीले बताउनुभयो । रुसका विदेश मन्त्री लाभरोभले सहमतिका बारेमा सिरिया सरकारलाई जानकारी गराएको र उसले गम्भीरता देखाएको बताउनुभयो । अहिले सिरियाली विपक्षीलाई अमेरिकाले सैन्यसहितको सहयोग गर्दै आएको छ भने रुसले राष्ट्रपति बसर अल असद पक्षलाई सहयोग गर्दै आएको छ ।।