काठमाडौं २३ भदौ । सामुदायिक विद्यालयका शिक्षकले ६० वर्षे सेवा अवधिभन्दा बढी काम गरेको पाइएपछि सरकारले अवकाश पाउनेको नामावली जिल्ला शिक्षा कार्यालयलाई पठाएको छ ।
यहि साउनदेखि पुससम्म देशभरका सामुदायिक विद्यालयका ७ सय १९ शिक्षकले अनिवार्य अवकाश पाउने भएपछि विद्यालय शिक्षक किताबखानाले शिक्षा कार्यालयलाई विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ । ६ महिनाभित्र अवकाश पाउने सबै जिल्लाका शिक्षकलाई जानकारी गराउन शिक्षा कार्यालयलाई निर्देशन दिइएको हो ।
जिल्लामा साउनमै पत्राचार गरी सेवा अवधि पूरा गरेका शिक्षकलाई अनिवार्य अवकाशको प्रक्रिया अघि बढाउन भनिएको किताबखानाले जनाएको छ । किताबखानाका प्रवक्ता दामोदर चापागाईंले शिक्षा नियमावली २०५९ को नियम १३१ (१) बमोजिन अनिवार्य अवकाशका लागि पत्राचार गरिएको जानकारी दिनुभयो ।
अवकाशका लागि आउने प्रक्रियागत समस्या शिक्षा कार्यालयमा रहेको रेकर्डअनुसार मिलाउन पनि भनिएको प्रवक्ता चापागाईंको भनाई छ ।











