काठमाण्डौ, २२ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भदौ ३१ गते भेटवार्ता गर्ने  भएका छन । प्रधानमन्त्री दाहालले आज अपराह्न सिंहदरबारस्थित आफ्नै कार्यालयमा पूर्वराजदूत, पूर्वपरराष्ट्रमन्त्री र कूटनीतिक मामिलाका जानकारहरूसँग सुझाव लिने क्रममा आफ्नो भ्रमण तालिकाबारे जानकारी गराएका हुन् ।maoist-suprimo-prachand-112123

प्रधानमन्त्री दाहाल मोदीको निम्तामा भदौ ३० गते भारत जाने कार्यक्रम छ। प्रधानमन्त्री दाहालले भ्रमणमा गएको भोलिपल्ट आफू औपचारिक भेटघाटमा व्यस्त हुने र अर्को दिन हिमाञ्चल प्रदेशको पहाडी क्षेत्रमा निर्मित जलविद्युत आयोजनाको अवलोकनमा जाने तालिका रहेको जानकारी दिए।

भ्रमण तालिका जानकारी गराउने क्रममा प्रधानमन्त्री दाहालले आफ्नो भ्रमणबारे कुनै किसिमको आशंका नगर्न आग्रह समेत गरे। उनले नेपालका जुनसुकै प्रधानमन्त्री अन्य देशमा जाँदाभन्दा भारत जाँदा आशा र आशंका बढी गर्ने गरिएको भन्दै आशा र आशंका गर्ने प्रवृत्ति त्याग्न आग्रह गरे।

आफ्ना भनाइपछि प्रधानमन्त्री दाहालले कूटनीतिक मामिलाका जानकारहरूसँग भ्रमणमा उठाउनुपर्ने विषयबारे सुझाव मागेका थिए। त्यसक्रममा उनीहरूले नेपाल र भारत नजिकका छिमेकी भए पनि संविधान जारीपछि दुई देशको सम्बन्धमा चिसोपना देखिएको भन्दै त्यो चिसोपना सदाका लागि हटाउने गरी सम्बन्ध सुधार गर्न सुझाव दिए ।।