काठमाडौं, भदौ २२ ।
जीवनशैलीका कारण आजकाल कलेजोमा बोसो जम्ने समस्या अधिकांश नेपालीमा देखिन थालेको छ । वीर अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ प्रा.डा. विधाननिधि पौडेलकाअनुसार कलेजोमा केही मात्रामा बोसो हुनु स्वभाविक भएपनि १० प्रतिशतभन्दा बढी बोसो छ भने यस्तो अवस्थालाई कलेजोमा बोसो जमेको मानिन्छ ।
सुरुमा यसले खासै असर नगरेपनि पछि यसले सिरोसिस भइ क्यान्सरसमेत हुनसक्ने उनको भनाइ छ । उनी भन्छन्–‘कलेजोमा बोसो जम्ने रोगलाई पहिलेकै अवस्थामा ल्याउन सकिन्छ । बिरामीले रहन–सहन, जीवनशैली र खानपानमा परिवर्तन गर्नुपर्छ । खानामा हरियो सागसब्जी, पलफूलको मात्रा बढाउने, काब्रोहाइट्रेड कम खाने, रक्सी नखाने, व्यायाम गर्ने हो भने यो समस्यामा मुक्त रहन सकिन्छ ।’
उनले कलेजोमा बोसो जम्ने समस्यालाई रक्सीको कारणले र रक्सीबाहेकका अरु कारणले हुने हिसाबले दुई वर्गमा बाँडिएको बताए । रक्सी नखाने तर चिल्लो बोसोयुक्त खाना, बढी मासु खाने व्यक्तिलाई यो समस्या देखिनसक्छ । यो समस्या वयस्क उमेरमा बढी देखिन्छ, तौल बढी भएमा, मधुमेहरोग भएमा, रगतमा कोलेस्ट्रोलको मात्रा बढी भएमा, उच्च रक्तचाप भएमा पनि कलेजोमा बोसो जम्नसक्छ ।।











