काठमाडौँ, २२ भदौ । भदौ २९ देखि ३१ सम्म काठमाडौँमा हुने नेपाल महिला सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको सङ्घका अध्यक्ष डा। डीला सङ्ग्रौलाले जानकारी दिनुभएको छ ।
उहाँले मङ्गलबारसम्म ७३ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको बाँकी नुवाकोट र रुपन्देहीको जिल्ला अधिवेशन पनि केही दिनभित्रै सम्पन्न हुने जानकारी दिनुभयो ।
कुल ५१ सदस्यीय कार्यसमितिको निर्वाचनमा पदाधिकारीमा अध्यक्ष, महामन्त्री र कोषाध्यक्ष प्रत्यक्षबाट निर्वाचित हुने छन् । यसैगरी, केन्द्रीय सदस्यमा खुला १५, प्रदेशबाट दुई–दुई, जनजाति, दलित,मधेसी तीन–तीन जना, मुस्लिम एक र मनोनित नौ जना हुने प्रावधान छ ।
महाधिवेशनको उद्घाटन २९ गते भृकुटीमण्डपमा र निर्वाचन ३१ गते राष्ट्रिय सभागृहमा हुनेछ । हालको तदर्थ समितिमा रहेका कसैले पनि उम्मेदवार हुन नपाउने व्यवस्था छ ।