उदय बीसी
दाङ, २१ भदौ । जिल्ला ट्राफिक कार्यालय दाङले एकै दिनमा ट्राफिक नियम उलंघन गर्ने सवारी साधन कारवाही गर्दा करीव एक लाख रुपैयाँ राजस्व संकलन गरेको छ । हरितालिका तिजको दिनमा जिल्लाका विभिन्न स्थानमा एक सय ३१ साना ठूला सवारी साधनलाई कारवाही गर्दा ९६ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख अरुणकुमार सिंहले बताउनुभयो । ‘विशेष गरी चाडपर्वको समयमा ट्राफिक नियम पालन नगरेको पाइयो’, उहाँले भन्नुभयो, ‘यसले भिडभाडको वेला झन वढी सडक दुर्घटना वढ्न सक्छन् ।’

तीजको समयमा सबैभन्दा करीव ८० वटा मोटरसाइकल, स्कुटरजस्ता दुई पाङग्रे सवारी साधनहरुले ट्राफिक नियम पालन नगरेको पाइएकोछ । त्यस्तै ठूला सवारी साधन (वस) २५, जिप १३, टेक्टर ६ र ट्रक ५ वटा कारवाहीमा परेको ट्राफिक कार्यालयले जनाएको छ ।
जिल्लाको घोराही, तुलसीपुर, नारायणपुर, लमही, भालुवाङलगायतका क्षेत्रमा ट्राफिक चेकजाँचमा यी सवारी साधन कारवाहीमा परेका हुन् । तीजका दिन सवारी चालकले सवारी चालक अनुमति पत्र नराखेको, सवारी कागजात नराखेको, ओभरलोड वोकेकोलगायतका ट्राफिक नियम उलंघन गरेको पाइएको ट्राफिक प्रमुख सिंहले जानकारी दिनुभयो ।
चाडपर्वको वेला विभिन्न लापरावहीका कारण सडक दुर्घटना वढ्ने भन्दै यो वेला अन्य समयको भन्दा चेकजाँचलाई कडा बनाइएको ट्राफिक प्रहरीले बताएको छ ।
