महेश श्रेष्ठ
साउदी अरबरहरेक दिन जस्तो प्रवासी नेपाली कामदारहरुको पीडाको खबर आउने साउदी अरबमा रहेका नेपालीहरुले हर्षोल्लासकासाथ तीज मनाएर पीडालाई विर्साएका छन् । मुस्लिम धर्मावलम्बीहरुको देश साउदी अरबको विभिन्न स्थानमा तीज मनाएर प्रवासी नेपालीहरुले संस्कृतिको जगेर्ना गर्नुका साथै सांस्कृतिक सद्भाव र जातीय सहष्णिुताको गतिलो उदाहरण प्रस्तुत गरेरका छन् ।
यहाँस्थित नेपाली राजदुतावास र विभिन्न संघ संस्थाहरुले छुट्टाछुटै स्थानमा महिलाहरुलाई दर खुवाई नाचगानकासाथ तीज मनाएका हुन् । यसक्रममा रियादस्थित कार्यबाहक राजदुत आनन्द शर्माको निवासमा दुतावासका कर्मचारी र वैदेशिक रोजगारका क्रममा परिवार सहित रहेका नेपालीहरुलाई सहभागिता गराई तीज मनाईएको थियो । अनौपचारिक रुपमा मनाईको सो कार्यक्रममा राजदुत शर्माले शुभकामना मन्तव्य सहित कविता सुनाएका थिए । कार्यक्रममा श्रीमती राजदुत शर्माले भने सहभागि महिलाहरुलाई सौभाग्यको प्रतिक स्वरुप चुरा, पोते, सिन्दूर र टीका सहितको सौन्दर्य प्रशाधानका सामाग्री वितरण गरेकी थिईन । यसैगरी नेपाल जन सम्पर्क समिति साउदी अरबले पनि रियादमा परिवारकासाथ रहेकाहरुका बीचमा तीज कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा महिला पुरुषसहित एक सय ६० जनाको सहभागिता थियो ।
साउदी अरबकै जेद्धामा पनि त्यहाँ रहेका नेपालीहरुका गुरुंग समुदायको संस्था तमु धिले तीज विशेष कार्यक्रम गरेको थियो । कार्यक्रममा त्यहाँ रहेका प्रवासी नेपाली कामदार र तीनका परिवारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कार्यबाहक महावाणिज्यदूत रेवतीरमण पौडेलको समेत उपस्थिति थियो । नाचगान र दरको भोज खाएर मनाईएको थियो । आयोजक तमु धिले सो उत्सव मनाउनुको उद्देश्य जातीय सदभाव र नेपाली संस्कृतिको जगेर्ना गर्नु रहेको जनाएको छ ।
यसैगरी अलहासामा रहेका प्रवासी नेपाली कामदारहरुको परिवार सहितको समूहले तीज उत्सवको आयोजना गरी दर खाएर मनाए । कार्यक्रममा उत्साहजनक सहभागिता रहेको थियो ।
तीज मनाउने क्रममै साउदी अरबको जुबैलमा पनि एनआरएनएले दर खाने एवं नाचगान सहितको कार्यक्रम आयोजना गरेर मनायो । एलसिसि जुबैलका अध्यक्ष ओमप्रसाद फुयाँलको संयोजकत्वमा मनाईएको उक्त तीज कार्यक्रममा पूर्वीक्षेत्र दम्माम र आसपासका प्रवासी कामदारहरु परिवारसहित सहभागी भएका थिए । जुबैलको कुकजोन होटलमा आयोजित तीज उत्सवमा एनआरएनएका साउदी अध्यक्ष नारायाण पासवान, उपाध्यक्ष डम्बर यादव, महासचिव तेजबहादुर थापा, पूर्व अध्यक्ष पुरुषोत्तम श्रेष्ठ, राजदुतावासका स्थानीय प्रतिनिधि हरि घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
सहभागि महिला तथा पुरुषहरुले नाचगान गर्नुका साथै दरको भोज खाएर मनाएका थिए । कार्यक्रममा दर खाने शुरुवात भने अध्यक्ष पासवानले पूर्वअध्यक्ष पत्नी सुनिता श्रेष्ठलाई दर प्रदान गरेर गरेका थिए । सहभागि महिला तथा पुरुषहरुले एक साथ नाचगान र भोजमा सरिक हुन पाउदा आफूहरुलाई नेपालमै भएको जस्तो अनुभूति व्यक्त गरेका थिए । साउदी अरबको विभिन्न स्थानमा मनाईएको यस तीज पर्वको कार्यक्रममा विभिन्न जातजाति र समुदायको सहभागिता उल्लेखनीय रुपमा रहेको थियो ।