babai नेपालगञ्ज,18 भदौ  । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य तीव्र पारिएको आयोजनाले जनाएको छ । १२ किलोमिटर लामो सुरुङ बनाउने जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इञ्जिनीयरिङ ग्रुप कम्पनी लिमिटेडले सुरुङ निर्माण स्थलसम्म सडक पु¥याएको छ । नेपालमै पहिलोपटक विशेष प्रविधियुक्त सुरुङ टनेल बोरिङ मेशिन(टीबीएम) प्रयोगका लागि आधारभूत काम थालिएको आयोजनाको भनाइ छ ।

बबई बजारदेखि निर्माण कम्पनी क्याम्पसम्म र क्याम्पदेखि सुरुङस्थलसम्म सडक विस्तार गरिएको आयोजनाका प्रशासन प्रमुख नृपजङ्ग शाहीले बताउनु भयो । ‘सडक निर्माण अब केही दनमै पूरा हुन्छ,’ उहाँले भन्नुभयोे ।

आधारभूत पूर्वाधार निर्माण र कार्यालय व्यवस्थापनको काम सम्पन्न भएको शाहीले बताउनु भयो । मध्यपश्चिमको आर्थिक समृद्धिसँग जोडिएको उक्त बहुउद्देश्यीय आयोजनाको काम तीव्र भएसँगै सर्वसाधारण उत्साहित देखिएका छन् ।

भेरीको पानी बबईमा ल्याउन निर्माण कम्पनीले चार वर्षमा १२ किलोमिटर सुरुङ निर्माण गर्ने लक्ष्य लिएको छ । दुई सय मिटर लामो सुरुङ हात्तीखालमा निर्माण हुने आयोजना कन्सल्टेन्सी प्रमुख सुधन बस्नेतले बताउनु भयो ।

‘टनेल बोरिङ मेशिन (टीबीएम) अबको दुई वर्ष्भित्र बबईमा पुग्छ,’ उहाँले भन्नुभयोे, ’त्यसअघि हात्तीखालमा २ सय ५० मिटर सुरुङ ब्लाष्टर गरेर बेस तयार पारिनेछ ।’

आयोजनाका सिनियर डिभिजनल इञ्जिनीयर जगदीश्वरमान श्रेष्ठले दिनु भएको जानकारी अनुसार सुरुङ मार्गका लागि चाहिने प्रिकाष्ट, पाइप, फलाम स्थानीय उद्योगमा निर्माण भइरहेको छ ।

उहाँका अनुसार आयोजनाले सामाजिक विकासतर्पm कुलो सुधार तथा लाइनिङ सिक्मेण्ट, प्रडक्शन प्लान, इक्वीपमेण्ट, कन्ष्ट्रक्शन मेटेरियल एवम् कन्ष्ट्रक्शन इक्वीपमेण्टको काम शुरू गरिसकेको छ ।

आयोजना कार्यालयका अर्का सिनियर डिभिजनल इञ्जिनीयर मीनराज ढकालले सडक विस्तारपछि पहिलो चरणको दुई सय मिटर सुरुङ निर्माणका लागि बाटो खुला भएको बताउनुभयो । उहाँका अनुसार निर्माण कम्पनीले अपेक्षाभन्दा तीव्र काम अगाडि बढाएको छ ।

तीन चरणमा निर्माण सम्पन्न गरिने उक्त आयोजनाको पहिलो चरणमा १२ किलोमिटर सुरुङ खनिनेछ भने दोस्रो चरणमा ४८ मेगावाटको बिजुली निकाली राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । तेस्रो चरणमा सिँचाइका लागि काम गरिनेछ ।
करीब १७ अर्ब रुपैयाँ लाग्ने सो आयोजनाबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीनमा १२ महीना सिँचाइ सुविधा पुग्नेछ । करीब १ सय २५ किलोमिटर क्षेत्रमा सिँचाइ, ग्रामीण सडक र विद्युतीकरणका कामसमेत उक्त आयोजनाले गर्ने सम्झौतामा उल्लेख छ ।

आयोजनाले सुर्खेतका २२, सल्यानका ३ र बर्दियाको १ गाविसलाई समेट्नेछ । आयोजना निर्माणका लागि सिँचाइ विभाग र चाइना ओभरसिजबीच २०७१ माघ १६ गते ठेक्का सम्झौता भएको थियो । आयोजना निर्माणका लागि चालू आर्थिक वर्षमा सरकारले २ अर्ब रुपैयाँ विनियोजन गरिसकेको छ ।

प्रतिसेकेण्ड ४० घनमिटर भेरी नदीको पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गर्ने र यही पानीले बाँके–बर्दियाका जमीनमा सिँचाइ पु¥याउने आयोजनाको लक्ष्य छ ।