सन्तोषकुमार गुप्ता
नजिकिदै गरेको चाडपर्बमा हुन सक्ने अपराधिक तथा अप्रिय घटना नियन्त्रण गर्न सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाले बिद्यार्थी केन्द्रीत अभियानलाई जारी राखेको छ । अभियान अन्र्तगत केन्द्रले मंगलबार दाङ जिल्लाको पूर्वी देउखुरीमा विद्यार्थी केन्द्रित ट्राफिक तथा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतना अभियान गरेको हो ।
lap-300x300
सम्भावित दुर्घटना एवम् पछिल्लो समयमा युवाहरु लागुऔषध दुव्र्यसनी जस्ता गलत क्रियाकलापमा बढ्दो संलग्नतालाई कम गर्न ईलाका प्रहरी कार्यालय भालुवाङ तथा अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङको सहयोगमा सेवा केन्द्र लालमटियाले अभियान सञ्चालन गरेको हो । प्रहरी र विद्यार्थीहरु बीचको सुमधुर सम्बन्ध कायम गर्न प्रहरी र विद्यार्थी बीचको हातेमालो सहितको ट्राफिक तथा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतना दिन पनि अभियानको महत्वपुर्ण भुमिका हुने केन्द्रकी अध्यक्ष हिमाली न्यौपानेले बताईन् ।

बढ्दो सड्क दुर्घटना कम गर्न तथा समुदायमा हुने अपराधिक घटना नियन्त्रण गर्न प्रहरी मात्रको एक्लो प्रयास प्रभावकारी नहुने भएको हुँदा समाजमा हुने हरेक गलत क्रियाकलाप नियन्त्रण गर्न प्रहरी, नागरिक, विद्यार्थी र शिक्षकको पनि महत्वपूर्ण भुमिका हुने न्यौपानेले बताईन् । त्यस्का लागि समुदाय देखि विद्यार्थी, शिक्षक, अभिभावक र युवाहरु संग प्रहरीको हातेमालो सचेतना अभियान शुरु गरेको उनको भनाई थियो ।

यसैबीच सेवा केन्द्र लालमटियाले अभियानको दोस्रो दिन सर्वोदय मावि सिसहनियाँमा एक दिने ट्राफिक तथा लागुऔषध नियन्त्रण सम्बन्धी विद्यार्थी, शिक्षक, अभिभावक र प्रहरी बीचको एकदिने अन्तर्कियात्मक प्रशिक्षण कार्यक्रम गरेको छ । विद्यालयका प्रधानध्यापक गोबिन्दबहादुर केसीको अध्यक्षता एवम् ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख मदन केसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रहरी जवान दिपक थापाले सड्क दुर्घटनाका कारण, मापसे चेकजाँच, दुर्घटना नियन्त्रणका उपाय, विद्यार्थी, शिक्षक, अभिभावकको कर्तव्य लगायतका बिषयमा प्रशिक्षण दिएका थिए ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी सहायक निरिक्षक रोहित कँवर तथा सामुदायिक प्रहरी अमृत कठायतले लागुऔषधका बेफाईदा, त्यसको असर, व्यक्ति, समाज र भविष्यमा पार्ने असर, रोकथामका लागि गर्न सकिने प्रयास, कसको के भुमिका, समुदायमा हुने हरेक खाले अपराधिक घटनामा विद्यार्थी, शिक्षक, अभिभावकको भुमिका लगायतका बिषयमा प्रशिक्षण दिएका थिए ।

सचेतना कार्यक्रममा बोल्दै प्रहरी प्रमुख केसीले चाड पर्वहरुमा हुन सक्ने सम्भावित अपराधिक घटना न्युनिकरण गर्न तथा गाउँ घरहरुमा हुने चोरी डकैती, लुटपाट , लागुऔषध दुव्र्यसनी, बाल तथा महिला हिंसा, झै—झगडा र मादक पदार्थ सेवन जस्ता क्रियाकलापहरुलाई पूर्ण रुपले नियन्त्रण गर्न अभियान सहयोगी बन्ने बताए ।

उनले लालमटिया, सिसहनियाँ र हाँसीपुर गाविसका सबै विद्यालयमा सचेतना अभियान संञ्चालन गर्ने समेत जानकारी गराए । कार्य क्षेत्र अन्र्तगत आर्दश उच्च मावि लालमटिया, उच्च मावि मौरीघाट, सर्वोदय उच्च मावि सिसहनियाँ, नेपाल राष्ट्रिय मावि भालुवाङ्ग, राप्ती प्राविधिक शिक्षालय लालमटिया र ऐरावती आर्दश उच्च मावि लालमटियामा सचेतना कार्यक्रममा सञ्चालन गर्ने बताए ।
सेवा केन्द्रका सचिव उमेश अधिकारीको स्वागत तथा बिषय प्रबेशबाट शुरु भएको कार्यक्रममा अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रमुख अम्मर थापा, सिसहनियाँ प्रहरी चोकीका ईन्चार्ज यज्ञमणि बैद्धिक, सर्वोदय माविका विद्यालय व्यवस्थापन समिकिा पूर्वअध्यक्ष शिवध्वज मल्ल, सोही विद्यालयका शिक्षक रामकृष्ण पौडेल, सिसहनियाँ युवा सञ्जालका अध्यक्ष गौरीशंकर पाण्डे, सञ्चारकर्मी ओमप्रकाश गुप्ता र विद्यार्थीहरु विवेक पन्थी, भक्तबहादुर थापा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । एक सय ५० जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण सेवा केन्द्रका उपाध्यक्ष सन्तोषकुमार गुप्ताले गरेका थिए ।