दाङ, १८ भदौ ।
आज तीजको दरखाने दिन । तीजको ब्रत बस्ने हिन्दु महिलाहरुले विभिन्न परिकार तथा मिठाई तयार पारेर तिजको अघिल्लो दिन दर खाने प्रचलन छ । तीजको दिन महिलाहरु दिनैभरि ब्रत बस्ने भएकाले भोक नलागोस् भनेर अघिल्लो दिन राती नै मिठा मिठा परिकार खाने चलन बसेको हो । यहि चलन अनुसार आज दर खाइदैछ ।
टाढा टाढा रहेका चेलीहरु माइतीघरमा जम्मा भएर वा आफ्नै घरमा खीर, ढकनी, घिउ, दही, दुध लगायतका मिठा परिकार खाने गर्छन् । खासगरी तीज पर्व दर खानेदिनवाट सुरु भएको मानिन्छ । पहिले तीजको अघिल्लो रात दरखाने गरिएपनि पछिल्लो समय बजार क्षेत्रमा पहिलेदेखिनै दर खाने चलन वढेको छ ।
हिजोआज दर खाने प्रचलनलाई भेटघाट र रमाइलो गर्ने अवसरको रुपमा पनि लिने थालिएको छ । हिमालयकी पुत्री पार्वतीले पति पाउनका लागि कठोर ब्रतगरी आफ्नो कामना पुरा गरेको धार्मिक कथन अनुसार तीजमा महिलाहरु ब्रत बस्ने गर्छन् । विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितहरुले सुयोग्य पति पाउँ भनी भोलि पल्ट निराहार व्रत बस्ने भएकाले अघिल्लो दिन दर खाने गरिन्छ ।
आज घरघरमा खासगरी दूधबाट निर्माण गरिएका मिठा परिकार, खिर, ढकने र सेलरोटी पकाएर खाइदैछ । आज दर खाएर ब्रत लिनेहरु भोलि विभिन्न तिर्थस्थल, मन्दिर तथा देवालयमा गइ शिव पर्वतीको पुजा उपासना गरेर तीज सम्वन्धि गीत, भजन र चुट्का गाएर यो वर्ष मनाउँदछन् ।।











