काठमाडौँ,१६ भदौ । सरकारले निजामती सेवा दिवस, २०७३ लाई भव्य रूपले मनाउने निर्णय गरेको छ ।
मूल समारोह समितिका अध्यक्ष तथा नेपाल सरकारका मुख्यसचिव डा. सोमलाल सुवेदीको अध्यक्षतामा बसेको बैठकले निजामती सेवा दिवस, कर्मचारीको महìवपूर्ण उत्सव भएको निष्कर्ष निकाल्दै केन्द्रदेखि जिल्ला स्तरसम्म भव्य तरिकाले मनाउने निर्णय गरिएको सामान्य प्रशासन मन्त्रालयका सचिव एवं मूल आयोजक समितिका सचिव टङ्कमणि शर्माले जानकारी दिनुभयो ।
सरकारले निजामती सेवा दिवसको अवसरमा आयोजना गरिने सबै कार्यक्रममा निजामती कर्मचारीलाई अनिवार्य उपस्थिति गराउनुका साथैै निजामती सेवाको आधिकारिक ट्रेड युनियन र निजामती कर्मचारी सम्बद्ध राष्ट्रिय स्तरका ट्रेड युनियनलाई समेत सहभागी गराउन केन्द्र, क्षेत्र तथा जिल्लास्थित कार्यालयमा परिपत्रसमेत गरिसकेको जनाएको छ ।
निजामती सेवा दिवस, २०७३ ‘सेवामैत्री प्रशासन, सङ्घीयतामा सुशासन’ भन्ने मूल नारासहित भव्य तरिकाले मनाउन केन्द्रमा मुख्यसचिवको संयोजकत्वमा मूल समारोह समिति, पाँच विकास क्षेत्रमा क्षेत्रीय प्रशासकको संयोजकत्वमा र जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निजामती सेवा दिवस कार्यक्रम संयोजन समिति गठन भएको सामान्य प्रशासन मन्त्रालयका उपसचिव कमल ज्ञवालीले जानकारी दिनुभयो ।