आरके कार्की
जाजरकोट, १४ भदौ ।
जाजरकोट—डोल्पा सडकको मन्मई—तल्लुबगर सडक खण्डमा यातायात सेवा बन्द भएपछि यात्रुहरु मर्कामा परेका छन् । रुटपरमिट नभएको भन्दै स्थानिय प्रशासनले यातायात संचालनमा रोक लगाएपछि पाँच दिन देखी त्यस सडक खण्डमा यातायात सेवा बन्द भएको छ । यातायात बन्दका कारण हजारौ यात्रुहरु मर्कामा परेका छन् । यात्रुहरु घण्टौ पदल हिड्न बाध्य छन् । गाडी नचल्दा सर्वसाधारण नागरिकका साथै बृद्धबृद्धा, महिला, बालबालिका र विरामीलाई निकै सास्ती भएको रग्दा ४ चौखाका किशोर मल्लले गुनासो गरे ।
गाडी भाडा महँगै भएपनि हामीलाई निकै सहज भएको थियो तर सरकारले यातायात संचालनमा रोक लगाउने गरि गरेको निर्णयले हामी निकै मर्कामा परेका छौ मल्लले भने ।त्यस्तै यातायात बन्दले डोल्पावासीलाई पनि निकै सास्ती भएको छ । यातायात सेवा बन्द भएपछि खाद्यन्न लगायतका मालसामान ढुवानी र यात्रा गर्न निकै गाह्रो भएको डोल्पा ल्हाँका नरबहादुर नेपालीले गुनासो गरे । जाजरकोट —डोल्पा सडक अन्र्तगत जाजरकोट, रुकुम र डोल्पा खण्डमा संचालनमा आएका जीप सेवाले डोल्पालीहरुको कष्टपुर्ण पैदल यात्रालाई सहज बनाईदिएको थियो । तर यातायात बन्दले जाजरकोटबासीलाई भन्दा डोल्पालीलाई सास्ती भएको नेपालीको भनाई छ ।
यो सडकको नेपाली सेनाले ट्याक खोले सँगै विगत ५ बर्ष देखी यातायात सेवा संचालनमा रहेको थियो । स्थानियले थाप्लोमा खाद्यन्न लगायतका उपभोग्य मालसमान बोक्नु पर्ने अवस्थाबाट मुक्ति पाएका थिए तर चाडवाड नजिकै आईरहेको बेला गरिएको यातायात बन्दले निकै समस्यामा पारेको रग्दा ४ कि माया रावतले बताईन । गाडी नचलेपछि स्थानिय र डोल्पाबाट आएका सयौ यात्रुहरु पैदल हिड्न बाध्य भएको स्थानियको भनाई छ । डोल्पालीहरु सुर्खेत , नेपालगञ्ज , काठमान्डौ लगायतका शहर झर्ने बाटो यही हो । नेपाली सेनाले निर्माण गरेको सो सडक खण्डमा भेरी गंगा ब्यबशायी समिति, सिस्ने हिमाल ब्यबशायी समिति र रुकुम प्रालिका १२ ओटा जीप र ५ ओटा ट्याक्टर संचालनमा रहेका थिए ।
ती ब्यबशायीले २२ किलोमीटर दुरीको उक्त खण्डमा ४ सय भाडा अशुल्दै आएका थिए । कुनै पनि निर्माण कम्पनीले सडक निर्माण कार्य पुर्ण रुपमा सकेर सडक विभागलाई बाटो हस्तान्तरण गरेपछि मात्र रुटपरमिट दिने ब्यवस्था छ । तर अहिले सम्म नेपाली सेनाले काम सकेको छैन । रुटपरमीट नभएका सडकमा यातायात संचालन गर्न नदिने सरकारी निर्णयलाई कार्यान्वयन गदै उक्त सडक खण्डमा यातायात संचालन अनुमति रुटपरमिट नभएकोले यातायात बन्द गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
जोखिमपुर्ण बाटोमा पनि १० जनाको क्षमता भएको एउटै जीपमा २०÷२५ जना सम्म यात्रुलाई कोचेर लिने गरेको, रुट परमीट नभएको, भाडादर प्रतिकिलोमिटर २० रुपैया सम्म लिने गरिएको आदि कारणले गर्दा यातायात संचालनमा रोक लगाउनु परेको निमित्त जिल्ला प्रहरी प्रमुख हिक्मत बोहराले बताए । विभागको अस्थायी अनुमती समेत नभएको उक्त कच्ची सडकमा ब्यबशायीले ५ बर्ष देखि यातायातका साधन संचालन गरेर मनपरी भाडा अशुल्दै आएका थिए । सरकारको निर्देशन र प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षतामा बसेको जिल्ला यातायात ब्यवस्थापन समितिको मंगलवार बसेको बैठकको निर्णय अनुसार उक्त सडक खण्डमा यातायात सेवा बन्द गरिएको प्रहरी निरीक्षक बोहराले जानकारी दिए ।