काठमाण्डौ, १३ भदौ ।
सरकारले ठुला चाडपर्वलाई लक्षित गरी यो वर्ष देशैभर सुपथ मुल्य पसल संचालन गर्ने तयारी गरेको छ । अघिल्ला वर्षमा काठममाडौं उपत्यकाका विभिन्न ११ स्थानमा सरकारी स्वामित्वका खाद्य संस्थान र साल्ट ट्रेडिङले सुपथ मुल्य पसल संचालन गरेका थिए ।
दशैं तिहार जस्ता महत्वपुर्ण चाडपर्वमा जनतालाई सहज होस भन्ने उद्देश्यसहित सुपथ मुल्य पसललाई प्रभावकारी ढंगले काठमाडौं लगायत केही ठूला शहरमा संचालनमा ल्याउन लागिएको आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्दराम रेग्मीले जानकारी दिनुभयो ।
ठूला चाडपर्वमा कालोबजारी मौलाउने र विचौलिया बढ्न सक्ने भन्दै सरकारी पहलमा सहुलियत दरको सुपथ मुल्य पसल विस्तार गर्न लागिएको आपूर्ति मन्त्रालयले जनाएको छ । सर्वसाधरण जनताको उपभोग्य अधिकारलाई सुनिश्चित गरि कालोबजारी अन्त्य गर्नु सरकारको मुख्य उद्देश्य रहेको रेग्मीको भनाई छ ।
सरकारले सुपथ मुल्य पसल संचालनलाई प्रभावकारी बनाउन रेग्मीको अध्यक्षतामा खाद्य संस्थान र साल्ट ट्रेडिङका पदाधिकारी सहितको समिति समेत गठन गरेको छ ।










