काठमाडौं, १२ भदौ । नयाँ संविधान जारी भएको दिन असोज ३ गतेलाई नेकपा क्रान्तिकारी माओवादीले कालोदिनका रुपमा मनाउने भएको छ ।
गत वर्ष संविधान जारी भएको दिनलाई कालो दिनका रुपमा मनाउने निर्णयअनुसार नै असोज ३ लाई कालो दिनका रुपमा मनाउने भएको हो ।
संविधान जारी भएको दिनमा सरकारले दिपावली गर्न आग्रह गरे पनि वैद्य माओवादी तथा मधेसवादी दलहरुले कालो दिनका रुपमा मनाउँदै ब्ल्याक आउट गरेका थिए ।
संविधान जारी हुँदा संविधान स्वीकार्य नभएको भन्दै रामबहादुर थापा ‘बादल’ले पनि असोज ३ लाई कालो दिनका रुपमा मनाएका थिए । संविधान स्वीकार्य नभएको भन्दै संविधान जलाउने अभियानमा रहेका बादल यो वर्ष भने असोज ३ गते दीपावली गर्ने भएका छन् ।
सरकारले असोज ३ लाई संविधान उत्सवका रुपमा मनाउने भएकाले नेकपा माओवादी केन्द्रसँगको एकतामा गएका बादलले अहिले भने दीपावली गर्ने भएका हुन् ।
संविधानमा केही उपलब्धी भए पनि संविधान स्वीकार्य नभएको बादलले एकता भइसकेपछि पनि भन्दै आएका थिए । गत असोज ३ गते संविधानसभाबाट तत्कालिन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए ।