रोल्पा, भाद्र १० ।
लोकेन्द्र सेन ‘सिम्पल कान्छा’को ‘कुखुरी’ मुक्तकसङ्ग्रह सार्वजनिक गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान, रोल्पा शाखाले बिहीबार रोल्पाको लिबाङमा एक कार्यक्रमको गरी उक्त सङ्ग्रह सार्वजनिक गरेको हो । प्रतिष्ठानका रोल्पा शाखा सचिव समेत रहेका सेनको छोरा लालेन्द्र सेनको जन्मदिनको अवसर पारी उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा साहित्यकार नवीन लोचनमगर ‘कुखुरी’माथि समीक्षा गरेका थिए ।hhh
कार्यक्रममा प्रमुख अतिथि डी.बी. टुहुरो र सेनकै छोरा लालेन्द्रले संयुक्त रुपमा उक्त ‘कुखुरी’ मुक्तकसङ्ग्रह सार्वजनिक गरेका थिए । सेनको यो दोस्रो मुक्तकसङ्ग्रह तथा तेस्रो कृति हो । उनको यसअघि अचानो मुक्तकसङ्ग्रह र ‘चोकमा उभिएका नयनहरु’ संयुक्त मुक्तकसंग्रह प्रकाशित छ । ६४ पृष्ठको ‘कुखुरी’ मुक्तकसङ्ग्रहभित्र १०१ वटा मुक्तकहरु समावेश छ ।

प्रतिष्ठानका रोल्पा शाखा कोषाध्यक्ष दिलिप कुवरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि टुहुरो, ललित साहित्य परिषद्, रोल्पाका अध्यक्ष ओम केसी, राप्ती साहित्य परिषद्, रोल्पाका अध्यक्ष गोकर्ण पुनमगर, खेम बुढामगर, चाङ चिराग, तारा सुनवार, कैलाश घर्तीमगर ‘थुर्पा’ लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा वक्ताहरुले नौलो तरिकाले विमोचन भएको भन्दै मुक्तककारलाई शुभकामना र लालेन्द्र सेनलाई जन्मदिनको शुभकामना दिए । कार्यक्रममा अशोक वली परिवर्तन, प्रकाशप्रोषित वली, विनोद डाँगी, जीवन बिसी लगायतले मुक्तक, गीत, गजल वाचन गरेका थिए । प्रतिष्ठान रोल्पा शाखा अध्यक्ष देवी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन खेमराज गाउँलेले गरेका थिए ।।