इन्द्रेणी संवाददाता
रोल्पा, ७ भाद्र ।
वरिष्ठ गजलकार टीकाराम उदासीलाई रोल्पामा सम्मान गरिने भएको छ । यही भाद्र १६ गते रोल्पाको लिबाङमा हुने ‘५ नम्बर प्रदेशस्तरीय गजल प्रतियोगिता’को अवसरमा उदासीलाई सम्मान गर्न लागिएको हो । १५१ औं मोती जयन्ती मूल समारोह समितिले सो प्रतियोगिताको अवसरमा उदासीलाई सम्मान गर्ने निर्णय गरेको समितिका संयोजक ओम केसीले बताए । समितिको बैठकले यस क्षेत्रमा जन्मी गजल विधामा विशेष योगदान प¥याएवापत उदासीलाई सम्मान गर्ने निर्णय गरेको हो ।
रोल्पा ह्वामा गाविसको गर्पामा जन्मिएका उदासी अहिले घोराही, दाङमा बस्दै आएका छन् । गजल लेखन र गजल समालोचना विशेष कलम चलाउने उदासीले अन्य विधाहरुमा पनि उत्तिकै कलम चलाउँदै आएका छन् । उदासीका अनुरोध (कवितासङगह—२०४८), वर्तमान बाँच्न खोज्दा (गजलसङगह—२०५०), परिवेशका धुनहरु (गजलसङगह—२०५६), अनुभूतिका बाछिट्टाहरु (हाइकुसङगह—२०५८), मौसमका हरफहरु (कवितासङगह—२०५९), गजलसिद्धान्त र नपाली गजलको इतिहास (इतिहास÷समालोचना—२०५९) लगायतका कृतिहरु प्रकाशित छन् ।
सोही प्रतियोगिताको अवसरमा ललित साहित्य परिषद्ले ललित साहित्य परिषद्ले कथाकार नवीन विभाषलाई दलसुर स्मृति कथा पुरस्कार र मुक्तककार तथा गजलकार राकेश बिएमलाई दियो नवप्रतिभा पुरस्कार समेत प्रदान गर्दैछ ।
यसैबीच प्रतियोगिताका लागि गजल पठाउने म्याद १० गतेसम्म रहेको समितिले जनाएको छ । ५ नम्बरभित्रका गजलकारहरुलाई प्रतियोगितामा सहभागी बनाइने मूल समारोह समितिका सदस्य सचिव देबी गुरुङले जानकारी दिइन । बरिष्ठ गजलकार ललिजन रावलको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने आयोजकले जनाएको छ ।।











