काठमाण्डौ, ५ भदौ ।
सांसदहरुले गाईजात्राको दिन देशभर सार्बजनिक विदा दिन माग गरेका छन् । व्यवस्थापिका संसदको आजको बैठकमा वोल्दै सांसदहरुले आगामी वर्षदेखि गाईजात्राका दिन देशभर सार्वजनिक बिदा दिन माग गरेका हुन् ।
सरकारले गाईजात्राको दिन काठमाडौं उपत्यकामा मात्र सार्वजनिक विदा दिँदै आएको छ । तर, गाईजात्रा काठमाण्डौं उपत्यकामा मात्रै नभई देशका अधिकांश जिल्लामा मनाइने भएकाले देशभर नै विदा दिनुपर्ने सांसदहरुको माग छ ।
सांसदहरुले बझाङ सदरमुकाम चैनपुरलाई सेती नदीको कटानबाट जोगाउन र बाँकेका १२ गाविसलाई राप्ती नदीको कटानबाट जोगाउन सदन र सरकारको ध्यानाकर्षण गराएका छन । यसैगरी यातायात क्षेत्रमा रहेको एकाधिकार, सवारी दुर्घटना, महिला हिंसा, भाइरल ज्वरो र तीजमा तडकभडक रोक्न पनि सांसदहरुले सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।।











