भूमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले आफ्नो कार्यकालमा सुकुम्वासी नेपालीलाई जग्गाधनी पुर्जा वितरण गर्ने बताउनुभएको छ । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले अदालतमा विचाराधीन अवस्थामा रहेको सुकुम्वासी समस्या समाधान आयोगको मुद्दा सल्टाएर सुकुम्वासी समस्या समाधान गर्ने बताउनुभयो ।
मन्त्री पाण्डेले राजनीतिकभन्दा पनि कानुनी उपचारको प्रक्रियाबाट सुकुम्वासी समस्या समाधान आयोग गठन गर्ने जानकारी दिनुभयो । नेपालमा बसेर जग्गाधनी प्रमाण पुर्जा नपाएका सुकुम्वासी नेपालीलाई लालपुर्जा दिलाउने उहाँले प्रतिबद्धता गर्नुभएको छ । साथै जनताको शक्तिलाई साथ लिएर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नेपालीको समस्या समाधान गर्ने उहाँको भनाई छ ।
फरक प्रसङ्गमा उहाँले नारायणी र राप्ती नदीको कटान नियन्त्रण तथा सडक निर्माणको काम युद्धस्तरमा अगाडि बढिरहेको जानकारी दिनुभयो । नारायणी र राप्ती नदीको तटमा सडक निर्माण गरी नदीको कटान नियन्त्रण तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने आफ्नो सोच रहेको उहाँले बताउनुभयो । कृषिप्रधान मुलुक नेपालमा कृषि उपजको उत्पादन गर्दै नेपालीलाई आत्मनिर्भर बनाउन सकिने उहाँले धारणा राख्नुभयो ।।