दाङ । साहित्यकार पुरन शर्माको जनयुद्धकालीन कवितासङ्ग्रह ‘बारुदी यामका कविता’ विमोचन गरिएको छ।
प्रगतिशील लेखक संघ दाङ र सर्वोदय पुस्तकालय तथा वाचनालयको आयोजनामा आइतबार घोराहीमा आयोजित कार्यक्रममा प्रगतिशील लेखक संघका पूर्व केन्द्रीय अध्यक्ष डा. अमर गिरीले कृति विमोचन गरे ।
कार्यक्रममा प्रमुख अतिथि गिरीले जनयुद्ध नेपाली राजनीतिको ऐतिहासिक परिघटना भएको बताउँदै त्यसकै जगमा गणतन्त्र स्थापना सम्भव भएको उल्लेख गरे । नेपालमा ठूला राजनीतिक दलहरूको कमजोरीका कारण लोकप्रियतावादको उदय भएको भन्दै उनले दलहरूले अझै पनि आत्मसमीक्षा र सुधारको प्रयास नगर्नु दुःखद भएको बताए ।
‘बारुदी यामका कविता’ले नेपालको वामपन्थी आन्दोलनमा आएको विभाजनप्रति चिन्ता व्यक्त गरेको टिप्पणी उनको थियो ।
समीक्षक डा. टीकाराम उदासीले कविता साहित्यको उच्च कलात्मक विधा भएको बताउँदै सङ्ग्रहले जनयुद्धकालीन काव्यिक चेतना बोकेको उल्लेख गरे । सङ्ग्रह सामाजिक न्यायको उद्घोषका रूपमा आएको बताउँदै उनले आगामी दिनमा अझ कलात्मक अभिव्यक्तिलाई तीव्र बनाउँदै अघि बढ्न कवि शर्मालाई शुभकामना दिए । शर्माका कविताहरू सरल र बोधगम्य रहेको उदासीले बताए । जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय अध्यक्ष भीम कुमाखीले ‘बारुदी यामका कविता’लाई युगको आवाजका रूपमा चित्रण गरे ।
सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतमको अध्यक्षतामा भएको कार्यक्रममा कवि शर्माका बुवा एवं साहित्यकार रामप्रसाद जैसी, राप्ती साहित्य परिषद्का पूर्वअध्यक्ष पुरुषोत्तम खनाल, अध्यक्ष कमलमणि देवकोटा, प्रगतिशील लेखक संघ दाङका अध्यक्ष चन्द्रबहादुर थापा, बीएन पुस्तक संसार प्रालिका कार्यकारी निर्देशक तथा अध्ययन मञ्चका अध्यक्ष सूर्य बिसी र लेखक संघउ दाङका अध्यक्ष खगराज न्यौपानेले आफ्ना विचार राखेका थिए ।











