हुम्ला । दक्षिणी हुम्लाबाट दुई करोडभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ । कृषि विकास कार्यालयका प्रमुख चूडामणि पन्तका अनुसार हालसम्म दुई करोड १६ लाख बराबरको स्याउ निकासी भएको छ ।

अहिले हुम्लामा व्यापारीले सोझै किसानसँग प्रतिकेजी ६० रुपैयाँमा स्याउ खरिद गर्दै आएका छन् । दक्षिणी क्षेत्रका ताँजाकोट, अदानचुली, चङ्खेली र सर्केगाड गाउँपालिकाबाट स्याउन विभिन्न जिल्लामा निर्यात भएको हो ।

यी गाउँपालिकामा स्याउ बगैँचा लगाउने एउटै किसानले १० लाख रुपैयाँसम्म आम्दानी गरेको ताँजाकोट गाउँपालिका–५ को गोपाल बुढाले बताएका छन् हरेक वर्ष उत्पादन भएको स्याउ सडक नजोडिँदासम्म कुहिने र पशुवस्तुलाई खुवाउनुपर्ने बाध्यता रहेकोमा गत वर्षबाट भने जिल्ला बाहिर निकासी हुन सुरु भएको हो ।

माथिल्लो क्षेत्रका खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिका उचाइमा रहेको कारण अझै स्याउ पाक्न सकेको छैन । असोज १५ गतेपछि मात्र यी गाउँपालिकामा स्याउ टिप्ने तयारी हुँदैछ ।