रुकुम । रुकुम पश्चिममा गाडीको ठक्करबाट आमा-छोरीको मृत्यु भएको छ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका –४ बलेटक्चाकाकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका ज्ञावलीको मृत्यु भएको हो ।
आइतबार बिहान साढे ८ बजेतिर जिल्लाको सानीभेरी गाउँपालिका – ८ एकान्तस्थित मध्यपहाडी सडकखण्डमा सिम्लीबाट चौरजहारी तर्फजाँदै गरेको भे. १ ज. १४८२ नम्बरको गाडीले आमा छोरीलाई ठक्कर दिएको थियो।
क.प्र.०२००१ ख १०७० नम्बरको गाडीमा सवार आमा-छोरीलाई छोरीले शौच गर्न भनेपछि गाडी रोकेर झर्ने क्रममा गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट गम्भीर घाइते भएका आमा-छोरीलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लागिएको थियो । सल्ले अस्पतालमा चेकजाँच पछि साढे ९ बजेतिर आमा-छोरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
आमा-छोरी रुकुम पश्चिमको सदरमुकाम मुसिकोटबाट सुर्खेत हुँदै गुल्मी जाँदै थिए। मृतक स्वस्तिका पौडेल रुकुम पश्चिमको सदुरमुकाम मुसिकोट खलंगास्थित सनराइज बैंकमा कार्यरत श्रीमान घनश्याम ज्ञावलीलाई भेट्न छोरीसहित त्यहाँ पुगेकी थिइन्। ठक्कर दिने गाडीका चालक सानीभेरी गाउँपालिका– ३ चौखेका २२ वर्षीय अम्मर विक प्रहरीको नियन्त्रणमा छन् ।











