काठमाडौं । अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने उद्देश्यले दुवै देशले समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन्। इरानको विदेश मन्त्रालय र अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले एक ऐतिहासिक समझदारी पत्र (एमओयू) भएको संयुक्त रूपमा यसको पुष्टि गरेका छन्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियानले समझदारी पत्रमा डिजिटल माध्यमबाट हस्ताक्षर गरेको बताइएको छ ।

समझदारीसँगै अमेरिका र इजरायलले इरानविरुद्ध गरिरहेको युद्ध औपचारिक रूपमा रोकिने विश्वास गरिएको छ। दस्तावेजमा डिजिटल हस्ताक्षर भइसकेका कारण स्विट्जरल्यान्डको जेनेभामा आगामी शुक्रबार हुने भनिएको वार्तामा दुवै पक्षका प्रतिनिधि सहभागी भएपनि कुनै भौतिक हस्ताक्षर समारोह भने आयोजना नहुने इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले बताएका छन् ।

सम्झौता अनुसार इरानको पुनर्निर्माणका लागि ३०० अर्ब अमेरिकी डलरको एउटा विशेष कोष प्रस्ताव गरिएको छ। अमेरिकी अधिकारीका अनुसार यो कोषमा इरानका छिमेकी मुलुकले रकम जम्मा गर्नेछन् र यसको प्रयोग युद्धबाट ध्वस्त भएका इरानी पूर्वाधारको पुनर्निर्माणमा गरिनेछ।

यता अमेरिकी राष्ट्रपति ट्रम्पले आगामी ६० दिनको वार्ताको अवधि ‘अन्तिम समयसीमा’ नभएको बताएका छन्। यो अवधिमा दुवै देशले तेहरानको आणविक कार्यक्रमलाई लिएर एउटा अन्तिम र ठोस सम्झौतामा पुग्नुपर्नेछ। ट्रम्पले चेतावनी दिँदै अर्को चरणको वार्ता ६० दिनभित्र निष्कर्षमा नपुगे वा इरानले यस समझदारीको पालना नगरे पुनः युद्ध सुरु हुने र इरानमाथि ‘भीषण बमबारी’ गर्ने चेतावनी दिएका छन् ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलद्वारा तेहरानमा गरिएको संयुक्त हवाई आक्रमणमा इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी मारिएका थिए। उनीसँगै सेनाका कमाण्डर, गुप्तचर निकायका प्रमुखलगायतका व्यक्तिहरु पनि मारिएका थिए ।