काठमाडौँ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति नदिएको बताएका छन् । मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै पोखरेलले प्रधामन्त्री शाहको बचाउ गर्दै यस्तो बताएका हुन् ।

प्रवक्ता पोखरेलले प्रधानमन्त्रीले सीमा विवादसम्बन्धी काम अगाडि बढाउँदा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्नेकुरा आउँदा आफू अचम्मित परेको बताएको बताए । “प्रधानमन्त्रीज्युले के भन्नुभएको हो भने, सीमा विवादसम्बन्धी काम अगाडि बढाउँदा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्नेकुरा आउँदा आफू अचम्मित परेको बताउनुभएको हो”, मन्त्री पोखरेलले भने ।

यद्यपि आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले लिपुलेक, कालापानी र लिम्पियाधुरा विवादमा एक सांसदले गरेको प्रश्नको जवाफ दिदै भनेका थिए, “तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला मैले पनि अस्ति भर्खर प्रधानमन्त्री भइसकेपछि थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।”